मधेशमा खानेपानीको अभाव देखिएसँगै समस्या समाधानका लागि सांसदहरुले ध्यानाकर्षण गराएका छन्।
सङ्घीय संसद् राष्ट्रियसभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले खानेपानीको हाहाकारले निम्तिएको परिस्थितिलाई सम्बोधन गर्न माग गरेका हुन्।
सांसद आनन्दप्रसाद ढुङ्गानाले मधेशमा खानेपानी समस्या तत्काललाई मात्र नभई दीर्घकालीन रुपमा नै समाधान गर्नुपर्ने बताए। उनले भने, “खेत त बाँझो भएको छ नै खानेपानी समेत नपाउने स्थिति देखिन्छ। आगो निभाउने बारुणयन्त्र खानेपानी ओसार्न प्रयोग भइरहेका छन्। यो तत्कालको मात्र होइन दीर्घकालीन समस्या हो। यसको हल गर्नुपर्छ। दीर्घकालीन योजना बनाएर जानुपर्छ।”
सांसद शेखरकुमार सिंहले सुक्खाग्रस्त समस्या मधेशमा मात्र होइन आउने दिनमा मेचीदेखि महाकालीसम्मै पुग्ने देखिएकाले यसलाई सम्बोधन गर्नु आवश्यक भएको बताए।
“सङ्घीय सरकारले यथाशीघ्र खानेपानी र सिँचाइ व्यवस्था गर्नुपर्छ,” उनले भने। बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
यस्तै, गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन्।
प्रकाशित: ६ श्रावण २०८२ १५:५२ मंगलबार





