प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको एक वर्षमा देशका आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ अघि बढेको बताएका छन्।
सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको बताएका हुन्। यसअघि समयसीमा (टाइमलाइन) तोकेर काम गर्ने प्रचलन नरहेकोमा अहिले त्यसको सुरुवात भएको उनको दाबी छ।
‘टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने चलन यसअघि थिएन, अहिले त्यो सुरु भएको छ,’ प्रधानमन्त्रीले लेखेका छन्, ‘नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्त्वपूर्ण कानुनहरू संशोधन भएका छन्।’
प्रधानमन्त्री ओलीले सेवा प्रवाह अब लाइनबाट होइन अनलाइनबाट गर्ने प्रचलन बढेको पनि उल्लेख गरेका छन्। उनले थप लेखेका छन्, ‘गर्नुपर्ने कामहरू धेरै छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ।’ गत वर्ष असार ३० गते नेपाली कांग्रेसलगायतका दलसँगको गठबन्धनमा सरकार गठन भएको थियो।
प्रकाशित: ३० असार २०८२ ०८:५९ सोमबार





