३ आश्विन २०८३ शनिबार
image/svg+xml
राजनीति

संविधानले सुनिश्चित गरेका नागरिक स्वतन्त्रतालाई कार्यान्वयन गर्नु आजको प्रमुख आवश्यकता हो : कुलमान

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले संविधानले सुनिश्चित गरेका लोकतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक हक, सामाजिक न्याय, समावेशिता र विधिको शासनका आधारभूत मूल्यलाई व्यवहारमा अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै घिसिङले ठूलो त्याग, संघर्ष र बलिदानबाट सार्वभौम नेपाली जनताबाट निर्माण भई जारी भएको नेपालको संविधानले सार्वभौमसत्ता नेपाली जनतामा निहित गर्दै नागरिकलाई राज्यसत्ताको केन्द्रमा स्थापित गरेको उल्लेख गरेका छन्।

उनले संविधान निर्माणका लागि भएका लोकतान्त्रिक आन्दोलन, संघर्ष र बलिदानको सम्मान गर्दै ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

घिसिङले संविधान कार्यान्वयनका क्रममा देखिएका कमी–कमजोरी सुधार गर्दै समयानुकूल र आवश्यक संविधान संशोधन तथा प्रणालीगत सुधारमार्फत संविधानलाई अझ प्रभावकारी र जनमुखी बनाउँदै लैजानुपर्ने बताएका छन्।

उनले उज्यालो नेपाल पार्टी सुशासन, पारदर्शिता, जवाफदेहिता, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै नागरिक सर्वोच्चता तथा संविधानका लोकतान्त्रिक उपलब्धिको संरक्षण र सुदृढीकरणका लागि प्रतिबद्ध रहेको बताएका छन्।

भ्रष्टाचारमुक्त, न्यायपूर्ण, समावेशी र परिणाममुखी शासन प्रणालीमार्फत आशा, अवसर र समृद्धिसहितको उज्यालो नेपाल निर्माण गर्ने पार्टीको संकल्प रहेको उनले उल्लेख गरेका छन्।

सुशासन, सामाजिक न्याय, समान अवसर र समृद्धिसहितको उज्यालो नेपाल निर्माण आजको आवश्यकता रहेको भन्दै घिसिङले संविधानको प्रभावकारी कार्यान्वयन, नागरिक सर्वोच्चता र जनउत्तरदायी शासनका लागि पार्टी प्रतिबद्ध रहेको बताएका छन्।

उनले संविधान दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित: ३ आश्विन २०८३ ०७:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App