रूसको कुर्स्क आणविक केन्द्रको एक रिएक्टर युनिटको कुलिङ टावरमा ड्रोनले प्रहार गरेको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले जनाएको छ।
एजेन्सीका अनुसार बिहीबार युक्रेनको सीमामा रहेको कुर्स्क क्षेत्रमा अवस्थित आणविक केन्द्रको कुलिङ टावरमा ड्रोनले प्रहार गरेको थियो। त्यसबेला सम्बन्धित रिएक्टर युनिट सञ्चालनमा रहे पनि घटनाका कारण यसको सञ्चालनमा कुनै अवरोध भएन।
आइएइएका प्रमुख राफेल ग्रोसीले आणविक केन्द्रमा हुने कुनै पनि आक्रमण स्वीकार्य नहुने बताए। उनले यस्ता घटनाले आणविक सुरक्षा र सुरक्षात्मक व्यवस्थामा जोखिम निम्त्याउन सक्ने भन्दै आणविक दुर्घटनाको जोखिम रोक्न अधिकतम सैन्य संयम अपनाउन आग्रह गरेका छन्।
रूसको आणविक ऊर्जा निगम रोसाटोमले पनि ड्रोन कुलिङ टावरमा ठोक्किएपछि विस्फोट भएको र त्यसबाट सामान्य क्षति पुगेको पुष्टि गरेको छ। सो घटनाले केन्द्रको सञ्चालनमा कुनै असर नपरेको र पावर युनिट नम्बर १ पूर्ण क्षमतामा सञ्चालन भइरहेको उसले जनाएको छ। केन्द्रमा विकिरणको स्तरमा पनि कुनै परिवर्तन नभएको निगमले बताएको छ।
यसैबिच, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार नयाँ राज्य हतियार कार्यक्रमअन्तर्गत आणविक त्रिकोणलाई थप बलियो बनाउने बताएका छन्। उनले आणविक त्रिकोणलाई रूसको सार्वभौमसत्ताको प्रत्याभूति र विश्वको शक्ति सन्तुलन कायम राख्न महत्त्वपूर्ण आधार भएको बताए।
पुटिनका अनुसार रूसको रणनीतिक क्षेप्यास्त्र बलमा रहेका ९२ प्रतिशत हतियार आधुनिक छन्। उनले नयाँ राज्य हतियार कार्यक्रमको अर्को मुख्य प्राथमिकता हवाई सुरक्षा प्रणालीको सुधार भएको बताए।
उनका अनुसार हवाई सुरक्षा प्रणालीले हवाई तथा अन्तरिक्षबाट हुने कुनै पनि प्रकारको आक्रमणलाई रोक्न सक्ने गरी विकास गरिनुपर्छ। कुर्स्क आणविक केन्द्रमा ड्रोन प्रहार भएको घटनाबिच पुटिनको यस्तो भनाइ आएको हो।
प्रकाशित: ३ आश्विन २०८३ ०७:५९ शनिबार





