मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलविरुद्ध महाअभियोग दर्ता गराइएको छ । बिहीबार सभामुख मण्डलविरुद्धमा सात राजनीतिक दलले प्रदेशसभा सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराइएको हो ।
सभामुख मण्डलले प्रदेशसभामा तटस्थ भूमिका निर्वाह नगरेको भन्दा नेपाली कांग्रेस,जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र,एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी नेपाल र नागरिक उन्मुक्ति पार्टीले ६४ सांसदको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता गराएका छन् ।
गत शनिबार लोकतान्त्रिक समाजवादी नेपालका नेता मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ९सोनल० ले विश्वासको मत लिने समयमा नेकपा माओवादी केन्द्रका दुई सांसद रहबर अन्सारी र माला कर्णलाई बोल्ने मौका दिएर सभामुखले मुख्यमन्त्रीले विश्वासको मत लिने वातावरण बिगारेको र त्यसपछि विश्वासको मत परीक्षण गर्ने वातावरण नै नबनाएको सात दलको आरोप छ ।
प्रदेश सभामा १०७ सदस्य रहेको छ । अहिले तीनजना सांसद निलम्बनमा छन् । संवैधानिक व्यवस्था अनुसार दुईतिहाईले महाअभियोग प्रस्ताव पारित हुन्छ । दुई तिहाईका ७१ सांसदको आवश्यकता पर्छ ।
नेकपा एमालेको तर्फबाट मण्डल सभामुख बनेका छन् । महाअभियोग प्रस्तावमा उपसभामुख बबिता इसर राउतले तोक लगाएर प्रदेशसभा सचिवालयमा पठाइसकेको छन् । प्रस्ताव दर्ता गराउने क्रममा सभामुख मण्डलकस स्वकीय सचिवहरुले अवरोध गरेका थिए ।

प्रकाशित: २७ कार्तिक २०८२ १८:२७ बिहीबार





