२६ मंसिर २०८२ शुक्रबार
image/svg+xml
राजनीति

इमेज सहकारी ठगी: बागलुङका पीडित आन्दोलित

बागलुङका सहकारी पीडित पुनः आन्दोलित भएका छन्। ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली संस्थापक अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारीमा बचत भएको आफ्नो रकम फिर्ता नपाएका फिर्ता नपाएका पीडितहरू आन्दोलित भएका हुन्।

इमेज पीडित संघर्ष समितिको आह्वानमा बचतकर्ताले आइतबार बागलुङ बजारमा नाराबाजी सहित प्रदर्शन गरे। मेयर देवकुमारसँग बचत फिर्ता गर्न सहमति नजिक पुगेका बेला माफिया र लुटेरा प्रवेश भएर आफूलाई दुःख दिने काम भएकाले भण्डाफोर गर्न सडकमा उत्रनु परेको संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले बताए।

‘देवकुमार नेपालीले आफ्नो चल अचल सम्पत्तिबाट बचतकर्ताको रकम फिर्ता गर्छु भनेका थिए,’ कार्कीले भने, ‘त्यत्रो घरजग्गा कसै न कसैले त लिनप¥यो भन्ने कुरा भयो। त्यही बेलामा बैंकले लिलामको सूचना निकाल्यो।’ रायडाँडाका रामबहादुर केसी र उनकी श्रीमती गोमादेवी केसीले अर्को एक जना आफन्तसँग मिलेर लिलाम सकार्ने र बचतकर्ताको पैसा आफूले फिर्ता गर्नेगरी बचतकर्ताको उपस्थितिमा देवकुमारसँग कागज गरेको उनले बताए। 

तर, अहिले बचतकर्ताको रकम फिर्ता गर्ने बेलामा रामबहादुर भागेर अमेरिका पुगेको पीडितको गुनासो छ। ‘त्यसका विरुद्धमा हामी आन्दोलित भएका छौँ’, कार्कीले भने। 

देवकुमारसँग रहेको झन्डै ७० करोडको सम्पत्ति २२ करोडमा उनीहरूले सकारेर बाँकी रकम पीडितलाई फिर्ता दिने गरी सम्झौता भएको थियो। ‘रामबहादुर केसी र गोमा केसीले बैंकको लिलामी सकारेपछि बाँकी सम्पत्तिको मूल्य बराबर पीडितलाई फिर्ता गर्ने कागज छ,’ कार्की भन्छन्, ‘उनीहरूले रकम फिर्ता गर्ने आसमा नै हामीले मिलापत्रमा हस्ताक्षर गरेका थियौँ। ९३ प्रतिशत पीडितले मिलापत्र गरिसक्दा रकम दिनुपर्ने मान्छे भागेर अमेरिका गयो।’

बागलुङमा एक हजार ५७४ जना पीडितले जाहेरी दिएकामा एक हजार ४६९ जनाले मिलापत्र गरिसकेका छन्। तर रकम भने फिर्ता पाएका छैनन्। उता रामबहादुरले भने अमेरिका पुगेपछि बोली फेरेका छन्। उनले ‘मैले बैंकबाट सकारेको हो’ भन्न थालेको पीडितहरू बताउँछन्।  ‘पीडितलाई दिनुपर्ने रकम नदिएर अमेरिका भागेपछि हामीले यहाँ घर बन्द गराएका छौँ, अहिले घरको क्षतिपूर्ति चाहिन्छ भनेर मुद्दा हाल्ने काम भएको छ,’ कार्कीले भने। यसरी माफियाका कारण आफूलाई थप पीडा भइरहेको पीडितको गुनासो छ।  

उता देवकुमारले पनि रामबहादुरबाट धोका भएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन दिएका छन्। तर, उनको निवेदन तामेलीमा राखिएको पीडित पक्षको गुनासो छ। 

 ‘रामबहादुरको परिवारले गरेको बदमासीविरुद्धको उजुरी सरकारी वकिल कार्यालयले नै अगाडि बढाएन। यो सहकारी माफियाका कारण भइरहेको छ,’ कार्कीले भने। 

माफियाले दिएको पीडाका कारण अहिलेसम्म चार जना बचतकर्ताले ज्यान गुमाइसकेको पनि उनी बताउँछन्। ‘एक करोड बढी बचत गर्नुभएको तनबहादुर कार्कीको हृदयाघातले मृत्यु भयो। जीवनभर हुलाकी गरेका कर्णबहादुर कार्कीको यही दुःखले ज्यान गयो,’ उनले भने, ‘मिनाकुमारी रेग्मीले पैसा नपाउँदा औषधी गर्न सक्नुभएन र जितबहादुर किसानको हृदयाघात भएर ज्यान गयो।’ 

सहकारी पीडित बचतकर्ताको रकम फिर्ता गर, सहकारी लुटेरा मुर्दावाद, सहकारी माफिया मुर्दावाद, सहकारीको सम्पत्ति खाने माफिया होसियार, घुस खोरी कर्मचारी मुर्दावादलगायतका नारा लगाउँदै बागलुङ बजारको परिक्रमा गरेका थिए। 

उता मेयर देवकुमारविरुद्ध सम्पत्ति शुद्धीकरणको समेत मुद्दा थपिएको छ।  उनी विरुद्ध एक अर्ब ५८ करोड बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ। देवकुमार पत्नी छेला नेपालीविरुद्ध ६ करोड ९८ लाख माग दाबी गर्दै अर्को मुद्दा छ। 

प्रहरीले पहिले नै सम्पत्ति शुद्धीकरण मुद्दा चलाउन सुझाए पनि राजनीतिक पहुँचका आडमा पहिले त्यो मुद्दा चलेको थिएन। अहिले जेनजी आन्दोलनपछि जिल्ला सरकारी वकिल कार्यालयले असोज २३ गते दम्पतीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा पनि चलाएको छ।

देवकुमार २०८० जेठ ४ गतेदेखि फरार थिए। एक वर्षपछि २०८१ असोज ११ गते भारतबाट पक्राउ परेका थिए। उनी विरुद्ध २०८० असारमा बागलुङ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।

यसबाहेक इमेज सहकारीमार्फत नै पोखरा र सूर्यदर्शन सहकारीमा समेत ठगी गरेको मुद्दा कास्कीमा परेको छ। देवकुमार अहिले पुर्पक्षका लागि थुनामा छन्, उनकी पत्नी छेला भने फरार छिन्।

प्रकाशित: ३० कार्तिक २०८२ १९:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App