१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

जाँचबुझ आयोगले सिफारिस गरे ओलीलाई पनि कारबाही हुन्छः प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा दोषी देखिएका जोकोहीलाई कारबाही हुने बताएकी छन्। यसका लागि गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय छानबिन आयोगको प्रतिवेदन कुरिरहेको उनको भनाइ छ।  

नेपाल रिपब्लिक मिडियाको हरेक बुधबार राति प्रसारण हुने नागरिक फ्रन्टलाइनसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले भदौं २३ र २४ गते भएका हरेक घटनाबारे सरकारले पनि सुक्ष्मरुपमा अध्ययन गरिरहेको बताइन्। ४० भन्दा बढी युवाहरुको हत्या, खर्बौ बराबरको भौतिक संरचनामा क्षतिलगायत सम्बन्धमा सरकार पनि गम्भीर रहेको उनको भनाइ थियो। 

यो पनि पढ्नुहोस्

एमाले लक्षित प्रधानमन्त्रीको प्रश्नः निर्वाचनमा नआएर कहाँ जान्छ?

नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलको तत्कालिन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब आइरहेको छ नि भन्ने प्रश्नमा प्रधानमन्त्री कार्कीले आयोगले काम गरिरहेकाले तत्काल सरकारले कुनै कदम नचाल्ने बताइन्। कार्की नेतृत्वको आयोग काम गर्न स्वतन्त्र रहेको उल्लेख गर्दै उनले आयोगले दिएको प्रतिवेदनका आधारमा दोषी देखिए ओली र लेखकलाई पनि पक्राउ गर्ने प्रतिबद्धता व्यक्त गरिन्।  

तत्कालका लागि भने सरकारको एकमात्र ध्यान निर्वाचनमा रहेकाले सबैलाई सहभागी हुन प्रधानमन्त्री कार्कीको विशेष आग्रह थियो।  

प्रधानमन्त्री कार्कीसँगको कुराकानी आज राति ७ बजे प्रसारण हुने नागरिक फ्रन्टलाइनमा सुन्न र हेर्न सक्नु हुन्छ। 

प्रकाशित: ३ मंसिर २०८२ १५:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App