प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकारात्मक वातावरण बन्दै गएको दाबी गरेकी छन्। प्रधानमन्त्री नियुक्त भएपछिको दुई महिनामा उल्लेख्य काम भएको बताउँदै उनले अबको साढे तीन महिना तयारी पूरा हुने विश्वास व्यक्त गरिन्।
नेपाल रिपब्लिक मिडियाको हरेक बुधबार राति प्रसारण हुने नागरिक फ्रन्टलाइनसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन प्रयोजनार्थ दल दर्ता, मतदाता अद्यावधिक, दलहरुसँगको छलफल सकारात्मक, रकमको व्यवस्थापनलगायतले निर्वाचन सुनिश्चित भएको बताइन्। जेनजी आन्दोलनका क्रममा जलाइएका प्रहरीका अधिकांश भवनको पुनर्निर्माण र पोशाकको व्यवस्थापन भइसकेको जानकारी दिँदै प्रधानमन्त्री कार्कीले यसले प्रहरीको मनोवल उच्च बनाएको दाबी गरिन्। भारत सरकारले ७ सय सवारी साधन सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिँदै उनले प्रहरीका लागि २ सय ७५ सवारी साधन खरिद गरेर सम्बन्धित ठाउँमा पठाएको बताइन्।
निर्वाचनका लागि दलहरुसँग निरन्तर छलफलमा रहेको बताउँदै प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा पुनस्र्थापनाको माग गरेपनि नेकपा (एमाले) निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरिन्। उनले भनिन्, अध्यक्ष केपी ओली नै छलफलमा सहभागी नभएपनि अन्य नेताहरुसँग बारम्बार छलफल भएको छ। निर्वाचनप्रति उहाँहरु सकारात्मक हुनुहुन्छ। राजनीति गर्ने दल निर्वाचनमा नआएर कहाँ जान्छ?
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा भागेका गम्भीर अपराधका कैदीबन्दीहरु अधिकांश कारागार फर्किएको जानकारी दिँदै बाहिर रहेका सामान्य अपराधका बन्दीहरुलाई फर्काउन सरकार प्रतिबद्ध रहेको बताइन्। करिब ७ सयको हाराहारीमा लुटिएका हतियार बाहिर रहेको जानकारी दिँदै उनले फिर्ता ल्याउने क्रम जारी रहेको उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीसँगको कुराकानी आज राति ७ बजे प्रसारण हुने नागरिक फ्रन्टलाइनमा सुन्न र हेर्न सक्नु हुन्छ ।
प्रकाशित: ३ मंसिर २०८२ १३:२६ बुधबार





