८ आश्विन २०८२ बुधबार
image/svg+xml ७:५२ पूर्वाह्न
राजनीति

मेरो नाम लिएर कसैले गलत गर्न खोजे झपारेर पठाउनुस्: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नामको दुरुपयोग गरेर कसैले भ्रष्टाचार वा अनियमितता गर्न खोजेमा त्यस्ता व्यक्तिलाई ‘झपारेर पठाउन’ सरकारी अधिकारीहरूलाई निर्देशन दिएका छन्।

सुशासन कायम गर्न कुनै पनि तहको मोलाहिजा नगर्न आग्रह गर्दै उनले आफ्नै कमजोरी देखिए पनि खुलस्त रूपमा भन्न सक्ने आँट गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई आह्वान गरेका हुन्।

सोमबार सिंहदरबारमा आयोजित राष्ट्रिय सतर्कता केन्द्रको २४ औं स्थापना दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणका लागि कठोर कदम चाल्न आफू तयार रहेको सन्देश दिए।

‘विना मोलाहिजा छानबिन र अनुगमन गर्नुस्। देखिएका कुरा यस्तै बैठकमा आएर खुलस्त भन्नुस्,’ उनले भने, ‘मेरै (प्रधानमन्त्रीकै) कमजोरी देखिए पनि आएर भन्नुस्।’

उनले थपे, ‘मेरो नाम भजाएर कसैले गलत काम गराउन खोजे भने त्यस्तो काम नगर्नुस्, झपारेर पठाउनुस्।’

कार्यक्रममा मुख्यसचिव, प्रधानसेनापति, सचिवहरू र सुरक्षा निकायका प्रमुखहरूसमेत उपस्थित थिए।

प्रधानमन्त्री ओलीले सरकारी कर्मचारीहरूलाई आफ्नो पदीय मर्यादा र नैतिकता नभुल्न पनि सचेत गराए। ‘आफूभन्दा मातहतका मानिस वा सार्वजनिक रूपमा गिर्ने गरी कुनै काम नगर्नुस्। अरूको आँखाबाट नझर्नुस्, आफ्नो आँखाबाट पनि नझर्नुस्। त्यसो गरेर सुशासनलाई सघाउनुस्,’ उनले भने।

‘समृद्धि नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सुशासनको महाअभियान अनिवार्य रहेको बताउँदै उनले स्वच्छता, पारदर्शिता र सहज सेवा प्रवाह नागरिकको अधिकार भएको र यसमा कुनै सम्झौता नहुने स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले समाजमा असन्तुष्टि भड्काएर अराजकता फैलाउने प्रयास भइरहेको भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरे। ‘पथभ्रष्ट हुनेलाई कानुनको नियन्त्रणमा ल्याइयोस्,’ उनले भने, ‘अब हामीले मुलुकबाट सबै प्रकारका पछौटेपन हटाउन लाग्नुपर्छ र यसमा सतर्कता केन्द्रले सक्रिय भूमिका खेल्नेछ भन्ने विश्वास लिएको छु।’ 

प्रकाशित: २७ श्रावण २०८२ १५:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App