राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं सांसद ज्ञानेन्द्र शाहीले भ्रष्टाचारविरुद्धको लडाइँमा आफ्नै पार्टीका नेताहरू मुछिए पनि नछाड्ने चेतावनी दिएका छन्।
राजधानीमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले आफू सरकारको विरोध मात्र नभई सत्तालाई सही मार्ग देखाउन क्रियाशील रहेको बताएका हुन्।
नेता शाहीले भ्रष्टाचारका विरुद्धमा बोल्न र लड्न आफूलाई कुनै पनि राजनीतिक शक्ति वा पदले नरोक्ने बताए। उनले भने, ‘राप्रपाका नेताहरूले भ्रष्टाचार गरे पनि म तिनका विरुद्ध खडा हुन्छु। यो मेरो कर्तव्य हो। बरु म पदबाट राजीनामा दिन्छु, तर भ्रष्टाचारका विरुद्धमा लडिरहनेछु।’
उनले आफू जहिले पनि भ्रष्टाचारका विरुद्ध लडेर आएको व्यक्ति भएको स्मरण गराउँदै नयाँ वा पुरानो जुनसुकै दलका नेता भए पनि भ्रष्टाचारमा कसैलाई माफी दिन नसकिने उल्लेख गरे।
शाहीले राजनीतिमा सुशासन र नैतिकता मुख्य विषय हुनुपर्नेमा जोड दिए।
विगतको प्रसङ्ग जोड्दै शाहीले आफ्नै पार्टी सरकारमा सहभागी हुँदा समेत आफूले कमजोरीमाथि प्रश्न उठाएको बताए। चार वर्षअघि काठमाडौंको गोंगबुमा भएको प्रहरीमाथिको आक्रमण र पसल लुटपाटको घटना उल्लेख गर्दै उनले सुनाए, ‘हाम्रै पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री हुनुहुन्थ्यो। तर गोंगबुमा लुटपाट हुँदा सरकार कहाँ छ भनेर मैले नै संसद्मा आवाज उठाएको थिएँ।’
आफ्नै सरकार र नेतृत्व हुँदा पनि खबरदारी गर्न पछि नहटेको दाबी गर्दै शाहीले आगामी दिनमा पनि विधिको शासन र भ्रष्टाचारमुक्त समाजका लागि आफ्नो अभियान जारी रहने प्रतिबद्धता जनाए।
उनले जनताको अधिकार र न्यायका लागि जस्तोसुकै चुनौती मोल्न तयार रहेको समेत बताए।
प्रकाशित: ३१ जेष्ठ २०८३ १७:४९ आइतबार





