२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

नगर प्रमुख हुँदा जनहितमा काम गरेँ, सांसद बनेपछि पनि निरन्तरता दिन्छु: रेनु

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट चितवन क्षेत्र नं-३ को प्रतिनिधिसभा उम्मेदवार रहेकी रेनु दाहालले आफू नगर प्रमुख हुँदा जस्तै सांसद बनेपछि पनि जनताको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरेकी छन्।

शुक्रबार चितवनमा आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले आफ्नो कार्यकालमा भरतपुर महानगरपालिकामा ऐतिहासिक कामको सुरुवात गरेको र त्यसलाई पूर्णता दिन संघमा आफ्नो प्रतिनिधित्व आवश्यक रहेको बताइन्।

दाहालले आफ्नो कार्यकालमा परिकल्पना गरिएको ८८ किलोमिटर लामो भरतपुर रिङरोड परियोजना अब संघीय सरकारको प्राथमिकतामा पर्ने बताइन्।

‘नगर प्रमुख हुँदा मैले परिकल्पना गरेको रिङरोडको डीपीआर र ईआईए सम्पन्न भइसकेको छ। अब यो नगरस्तरीय नभई केन्द्रीय सडक बनेको छ,’ उनले भनिन्, ‘यसका लागि अब केन्द्रबाटै बजेट आउँछ र राष्ट्रिय राजमार्गको रूपमा विकास हुन्छ।’

जंगल सिमाना र रिङरोड क्षेत्रका बासिन्दालाई विस्थापित हुन नदिने प्रतिवद्धता जनाउँदै उनले भनिन्, ‘रिङरोड बन्दा बस्तीबाट मात्र २ मिटर जग्गा लिने निर्णय हामीले गरिसकेका छौं। कोही पनि विस्थापित हुनुपर्दैन, ढुक्क हुनुहोस्।’

दाहालले आफ्नो पहलमा देवनगर सबस्टेसन निर्माण गरी भरतपुरको जंगल क्षेत्र र औद्योगिक क्षेत्रमा देखिएको विद्युत समस्या समाधान गरिएको बताइन्। निकुञ्ज ऐनका कारण वन क्षेत्रबाट प्रसारण लाइन विस्तार गर्न कठिन भए पनि आफूले समन्वय गरेर निकास निकालेको उनको भनाइ थियो।

महानगरका सडकहरूमा देखिने सानातिना खाल्डाखुल्डी पुर्न सडक डिभिजन कार्यालय सक्रिय रहेको भन्दै उनले अब साना कामका लागि महानगरको बजेट कुर्नुनपर्ने बताइन्। उनले नहरको बाटो निर्माण र तटबन्धजस्ता ठूला योजनाका लागि संघीय बजेट आवश्यक पर्ने भएकाले आफूलाई जिताउन आग्रह गरिन्।

‘हिजो नगर प्रमुख हुँदा जसरी नीतिगत निर्णय गरेर जनताको पक्षमा काम गरेँ, भोलि संघीय संसदमा पनि त्यसरी नै तपाईंहरूको आवाज बोल्नेछु।’ उनले भनिन्।

उनले आफूले गरेका निर्णयको रक्षा र कार्यान्वयनका लागि दृढतापूर्वक लाग्ने बताइन्।

प्रकाशित: २३ माघ २०८२ १९:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App