२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

नेपालगञ्ज-दिल्ली सिधा उडानका लागि पहल गर्छु: परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालगञ्ज र भारतको नयाँदिल्लीबीच सिधा हवाई उडान सुरु गर्न आफूले सशक्त पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

पश्चिम नेपालको आर्थिक विकास र पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण मानिएको यस उडानलाई प्राथमिकतामा राखेर अघि बढ्ने उनले बताए।

सोमबार मन्त्रालयमा बाँके र बर्दियाका प्रमुख राजनीतिक दल, सांसद, उद्योगी व्यवसायी तथा नागरिक समाजको सर्वपक्षीय प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री डा. राणाले उक्त प्रतिबद्धता जनाएकी हुन्।

‘यो उडानका लागि मैले पहिलेदेखि नै पहल गर्दै आएकी छु। नेपालगञ्ज–दिल्ली उडानको एजेन्डा हाम्रो प्राथमिकतामा छ,’ भेटघाटका क्रममा मन्त्री डा. राणाले भनिन्, ‘कनेक्टिभिटी जति बढायो, त्यति नै नेपाललाई फाइदा पुग्छ। यसले दुवै देशलाई पारस्परिक लाभ दिने भएकाले म यो काममा गम्भीरताका साथ लाग्नेछु।’

उनले हवाई सम्पर्क विस्तारले पर्यटन, पारवहन, व्यापार तथा जनसम्पर्क अभिवृद्धिमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।

नेपालगञ्जमा होटललगायतका आवश्यक पर्यटन पूर्वाधार बनिसकेको अवस्थामा उडान सञ्चालनले पश्चिम नेपालको अर्थतन्त्रमा उल्लेख्य योगदान पुग्ने र त्यस क्षेत्रको मुहार फेरिने उनको भनाइ थियो।

यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा नेपालगञ्ज–दिल्ली उडानलाई प्राथमिकताको एजेन्डाका रूपमा समावेश गर्न माग गर्दै सर्वपक्षीय टोलीले मन्त्री राणालाई भेटेको थियो।

टोलीले नेपालगञ्जलाई ‘मानसरोवर गेटवे’ का रूपमा विकास गर्न सकिने र यसका लागि दिल्लीसँगको सिधा उडान अपरिहार्य रहेकोमा जोड दिएको थियो।

उक्त उडान सञ्चालनमा आए सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका करिब २५ जिल्लाका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने प्रतिनिधिमण्डलको भनाइ थियो।

मन्त्री राणालाई भेट्न पुगेको टोलीले नेपालगञ्ज विमानस्थलमा उडानका लागि आवश्यक सबै पूर्वाधार तयार भइसकेको र विमानस्थलले प्रतिघन्टा ६०० यात्रुलाई सेवा दिन सक्ने क्षमता राख्ने जानकारीसमेत गराएको थियो।

प्रकाशित: २६ श्रावण २०८२ १५:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App