‘राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ’ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्नो आन्दोलन आगामी मंसिर ७ गतेबाट सुरु हुने घोषणा गरेका छन्।
बुधबार राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले जेन-जी आन्दोलनलाई विदेशी शक्तिले ‘हाइज्याक’ गरेको बताउँदै आफ्नो आन्दोलन भने पूर्णतः शान्तिपूर्ण र फरक प्रकृतिको हुने बताए।
गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको सुरुवाती दुई घण्टा मात्रै वास्तविक र जायज भएको तर त्यसपछि उक्त आन्दोलन विदेशी शक्तिहरूको हातमा पुगेको प्रसाईंको दाबी छ।
‘भदौ २३ र २४ गते दुई घण्टा जेन-जीको आन्दोलन भयो। दुई घण्टासम्म राम्रो आन्दोलन थियो, तर त्यसपछि त्यो हाइज्याक भयो र विदेशीहरूको हातमा पुग्यो,’ उनले भने, ‘त्यो आन्दोलन बंगलादेशी र माल्दिभ्सको मोडेलमा गयो र सत्ता हत्याउने खेल भयो।’
आफ्नो आन्दोलन जेन-जीको जस्तो हिंसात्मक नहुने प्रस्ट पार्दै उनले भने, ‘हाम्रो आन्दोलन बन्दुक, बारुद बोकेर आउने, सिंहदरबारमा आगो लगाउने वा नागरिकका घर-व्यवसाय तोडफोड गर्ने किसिमको होइन।’
उनले आफ्नो अभियान शान्तिपूर्ण हुने र कसैले बन्द उल्लंघन गरेर तोडफोड गरेमा त्यसको जिम्मेवारी अभियानले नलिने चेतावनी दिए।
किन रोजे मंसिर ७ ?
प्रसाईंले आफ्नो आन्दोलनका लागि मंसिर ७ गते रोज्नुको कारण खुलाउँदै त्यस दिनलाई नेपालको राजनीतिक इतिहासमा ‘कालो दिन’ को संज्ञा दिए।
‘मंसिर ७ गते दिल्लीमा १२-बुँदे सम्झौता भएको थियो। त्यही १२-बुँदे सहमतिका कारण आज देशमा राजसंस्था गयो, हिन्दु अधिराज्य गयो, र नेपाली नागरिकहरू विदेशिन बाध्य भए,’ उनले भने, ‘देश विदेशीहरूको षड्यन्त्रमा फस्यो र एनजीओ/आईएनजीओले चलाउने सरकारहरू आए।’
यही सहमतिको विरोध स्वरूप आफूहरूले सोही दिनदेखि आन्दोलन सुरु गर्न लागेको उनको भनाइ छ।
उनले आफ्नो अभियान ‘पशुपति जोगाउने’ र ‘माता दुर्गालाई जोगाउने’ अभियान भएको बताउँदै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नेपाल बन्दको आह्वान गरिएको जानकारी दिए।
सरकारले वार्ताका लागि आह्वान गरेको र आफूलाई पक्राउ गर्ने हल्ला चलाएको प्रति टिप्पणी गर्दै उनले भने, ‘वार्ताको लागि बोलाएको पनि मिडियाबाटै थाहा पाएँ, थुन्ने कुरा पनि मिडियामै आयो। तर, अहिलेसम्म प्रहरी पक्रन आएको छैन, न त सरकारले वार्तामा बोलाएको छ।’
उनले आफ्नो अभियान निरन्तर अघि बढ्ने दृढता व्यक्त गरे।
प्रकाशित: १२ कार्तिक २०८२ १६:०९ बुधबार



-600x400.jpg)

