प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू सधैँभरि पदमा नरहने र कुनै पनि जीवित वस्तुका लागि ‘सधैँभरि’ भन्ने कुरा असम्भव रहेको बताएका छन्।
वरिष्ठ पत्रकार विजय कुमार पाण्डेसँगको एक अन्तर्वार्तामा उनले आफूले कहिल्यै पनि ‘सधैँभरि प्रधानमन्त्री वा अध्यक्ष भइरहन्छु’ नभनेको स्पष्ट पारे।
अन्तर्वार्ताका क्रममा पत्रकार पाण्डेले ठट्यौली पारामा ‘तपाईंले २० वर्ष अध्यक्ष हुन्छु भन्दिनुभयो, मान्छेहरूले विश्वास गरिहाल्छन् नि’ भनी प्रश्न गर्दा अध्यक्ष ओलीले मुस्कुराउँदै आफ्नो भनाइको आशय फरक रहेको सुनाए।
‘मैले उनीहरूलाई सरकार फेरिन्छ भन्नेलाई हल्का जवाफ दिएको त,’ उनले भने, ‘पर्ख न एक वर्ष, म प्रधानमन्त्रीबाट छोडिदिन्छु, शेरबहादुरजी हुनुहुन्छ।’ उनले थपे, ‘जीवित चिजका लागि त झन् सधैँभरि भन्ने कुरा हुँदैन। निर्जीव चिज, ढुङ्गा, माटो लामो समय कायम रहलान्, तर जीवित चिज त कायम रहँदैन।’
नेतृत्व हस्तान्तरणको विषयमा ओलीले यसलाई एक स्वाभाविक प्रक्रियाको रूपमा व्याख्या गरे। उनका अनुसार, यो पार्टीको आवश्यकता, परिस्थितिको माग र व्यक्तिको कार्यक्षमतामा भर पर्छ।
‘मेरो काम गर्ने सामर्थ्य छैन, क्षमता छैन भने मैले नछोडेर हुन्छ ?’ उनले प्रश्न गरे, ‘मैले छोड्नुपर्ने परिस्थिति आयो भने छोड्नैपर्छ।’
उनले आफूभन्दा राम्रो काम गर्न सक्ने व्यक्ति अगाडि आएमा उसलाई ठाउँ दिनुपर्ने र त्यसमा कुनै सम्झौता गर्न नहुने बताए।
अध्यक्ष पद छाडेपछि दोस्रो वरीयतामा बस्ने लोभ आफूलाई नभएको पनि उनले स्पष्ट पारे। ‘म पहिलो मर्यादा छोड्दै छोड्दिनँ,’ उनले भने, ‘छाड्न परे के छ त भन्दा नजिकै आएर दोस्रो सिटमा बसेर र्याइँ-र्याइँ गरेर होइन, घर गएर बस्नुपर्छ।’
प्रकाशित: १ श्रावण २०८२ १६:०५ बिहीबार





