२३ भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

आर्यघाटमा सहिदको शवलाई काँध थापेपछि राजनीतिमा आउन बाध्य भएँ: गृहमन्त्री

गृहमन्त्री सुधन गुरुङले आफू सत्ता र पदको लोभले नभई आन्दोलनका सहिदहरूको सपना पूरा गर्न राजनीतिमा आएको बताएका छन्।

पशुपति आर्यघाटमा जेन-जी सहिदहरूको शवलाई काँध दिँदाको क्षणले आफूलाई राजनीतिमा होमिन बाध्य पारेको उनले बताएका हुन्।

विसं २०८२ भदौ २३ गतेको जेन-जी आन्दोलनमा ज्यान गुमाएका सहिद विनोद महर्जनको सालिक ललितपुरमा सोमबार अनावरण गर्दै गृहमन्त्री गुरुङले आफूमा पदको कुनै घमण्ड र व्यक्तिगत स्वार्थ नरहेको सुनाए।

उनले गृहमन्त्रीको कुर्चीलाई सत्ता उपभोग गर्ने माध्यम नभई जनताको सेवा गर्ने जिम्मेवारीका रूपमा लिएको बताए।

‘म राजनीतिमा आउन इच्छुक थिइनँ, तर सहिदको सपना र देशप्रतिको जिम्मेवारीका कारण यहाँ आउन बाध्य भएँ,’ मन्त्री गुरुङले भने, ‘सहिदको सपना र नेपाली जनताको अपेक्षा पूरा गर्न अन्तिम साससम्म काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

सरकार कुर्सीमा बसेर भाषण गर्ने मात्र नभई नागरिक दुःखमा पर्दा सिधै घटनास्थलमै पुग्ने हुनुपर्ने उनको भनाइ थियो। ‘तपाईंको दुःख मेरो नै दुःख हो भनेर आफैं फिल्डमा कुद्ने सरकार जनताले खोजेका हुन्,’ गृहमन्त्रीले भने।

उनले भ्रष्टाचार र सत्तामोहमा लिप्त राजनीतिक प्रवृत्तिको आलोचना गर्दै असल नेताबाट सिक्न र सत्ताको लोभ त्याग्न आग्रह गरे। विपद्‌का बेला नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको उद्धारको प्रशंसा गर्दै उनले सुरक्षाकर्मीको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा पूर्वमन्त्री एवं ललितपुर क्षेत्र नं-२ का प्रतिनिधिसभा सदस्य जगदीश खरेलले सालिकले सत्कर्म गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्दै सिद्धान्त, आचरण र व्यवहारमा राजनीतिक इमानदारी देखाउनुपर्नेमा जोड दिए।

यस्तै, प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले सरकारले सधैँभरि जनताको सेवक बनेर काम गर्नुपर्ने धारणा राखिन्।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सहिद महर्जनको योगदानको सम्मान गर्दै महानगरभित्र सहिदका नाममा हुने रचनात्मक काममा पूर्ण सहयोग गर्ने बताए।

सहिद विनोद महर्जनका दाजु काजीरत्न महर्जनले सालिक निर्माणमा सहयोग पुर्‍याउने स्थानीय समाजसेवी प्रेमकृष्ण महर्जन र वडा नं-७ का अध्यक्ष कुलबहादुर महर्जनप्रति आभार व्यक्त गरे।

टोल सुधार समितिका अध्यक्ष बाबुराजा महर्जनले नागरिक अधिकारका लागि जीवन आहुति दिने सहिदको सालिक अनावरण गर्न पाएकोमा सन्तुष्टि व्यक्त गरे।

प्रकाशित: २३ भाद्र २०८३ २१:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App