२३ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

बिरामी आमा छाडेर सुरुङ खोतल्न पुगेका सुजन, जसले दुई जनालाई जीवितै निकाले

रसुवा र नुवाकोटमा भोटेकोसी बाढीले वितण्डा मच्चाउँदा घरमा आमा बिरामी थिइन्। तर, मनमा भने बाढीले थुनेको जलविद्युत् आयोजनाको सुरुङभित्र छटपटाइरहेका नागरिकलाई जसरी पनि बचाउने हुटहुटी थियो।

त्यही हुटहुटीले ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-८ का युवा सुजन श्रेष्ठलाई त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङसम्म पुर्‍यायो। त्यहाँ उनको ११ दिने अथक परिश्रमले अन्ततः १० दिनपछि दुई जनाको जीवितै उद्धार सम्भव भयो।

पेसाले एक्साभेटर अपरेटर रहेका श्रेष्ठ भदौ १० गतेको विपद्‌पछि नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघको सूचना देखेर ११ गते नै स्वयंसेवकका रूपमा घटनास्थल पुगेका थिए।

त्यहाँ उनले नेपाली सेनाको ‘श्री नम्बर १ विपद् व्यवस्थापन गण’ र ‘युद्ध भैरव गण’ (स्पेशल फोर्स) सँग काँधमा काँध मिलाएर भदौ २१ गतेसम्म काम गरे। सुरुवाती दिनमा मेसिन लिएर सुरुङसम्म बाटो बनाउने सिभिल अपरेटर उनी एक्लै थिए।

भीषण बाढीको त्रास, निरन्तरको वर्षा र ठूलठूला ढुङ्गा पन्छाउँदै उनीहरूको टोली १८ गते मात्रै सुरुङको प्रवेश बिन्दुसम्म पुग्न सफल भएको थियो।

‘राति करिब १ देखि २ बजेको समयमा हामीले सुरुङभित्र केही गुनगुन आवाज सुन्यौं। भित्र मान्छे जीवितै छ भन्ने थाहा पाएपछि आराम गरिरहेका साथीहरूलाई उठाएर कामको रफ्तार बढायौं,’ सुजन सम्झन्छन्, ‘अथक प्रयासपछि १९ गते बिहान सुरुङको जटिल भाग तोडेर भित्र पस्यौँ र दुई जनालाई जीवितै निकाल्यौं।’

दुई जनाको जीवित उद्धार भएपछि सुजन सेनाको स्पेशल फोर्ससँगै सुरुङभित्र पसे। घुँडाभन्दा माथि लेदो, अन्धकार, ठूला ढुङ्गा र सिङ्गा रुखहरू थुप्रिएको १६० मिटरभन्दा लामो सुरुङको माथिल्लो तलामा पुगेर उनले एउटा शव फेला पारे र बाहिर निकाल्न सघाए।

‘सर्वसाधारण नागरिकका रूपमा त्यो सुरुङभित्र पस्ने म एक्लै थिएँ,’ उनी भन्छन्, ‘कसैको सास बचोस्, नभए पनि आफन्तलाई बुझाउन लास भेटियोस् भन्ने मनमा थियो। त्यही आँटले भित्रसम्म पुगेर शव निकाल्यौं।’

सुरुवाती दिनमा सुरुङभित्र जुस र अक्सिजन पुर्‍याइएको भन्दै बाहिर अफवाह फैलिएपछि सुजनले घटनास्थलबाटै भिडियो बनाएर यथार्थ सार्वजनिक गरेका थिए। त्यसपछि बेपत्ताका परिवारहरूले उनलाई फोटो पठाउँदै आफ्ना मान्छे खोजिदिन गुहार्न थालेका थिए। ‘त्यसले मलाई उद्धारमा खटिन झनै ठूलो नैतिक दबाब र ऊर्जा दियो,’ उनले भने।

दुई-तीन दिनका लागि भनेर त्रिशूली पुगेका सुजन सफलता हात नलागेसम्म फर्किएनन्। पछि प्रहरी र सेनाका अन्य अपरेटरहरू पनि थपिएका थिए।

‘दुई जनाको जीवित उद्धार भएपछि सेनाका कर्नेल साबले ढाप मार्दै ‘थ्याङ्क यु सुजन भाइ’ भन्नुहुँदा म भक्कानिएँ,’ सुजनले भने, ‘घरमा बिरामी आमालाई छाडेर आएको थिएँ, तर मैले जे गरेँ ठीक गरेँ भन्ने लाग्यो। विपद्‌मा परेका दाजुभाइलाई बचाउन आफ्नो सीप प्रयोग गर्न पाएँ, यसैमा मलाई सन्तुष्टि छ।’

प्रकाशित: २३ भाद्र २०८३ २०:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App