कास्कीको अन्नपूर्ण क्षेत्रमा पर्ने किम्रुङ खोला पहिरोले थुनिएको खबर स्थानीयबाट प्राप्त भएपछि जिल्ला प्रशासनले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
खोला थुनिएको विषयको आधिकारिक पुष्टि हुन बाँकी रहे पनि सम्भावित जोखिमलाई ध्यानमा राखी प्रहरीमार्फत नदी किनारका बस्तीहरूमा माइकिङ सुरु गरिएको छ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता चित्राङ्गत बरालका अनुसार स्थानीय बासिन्दाले खोला थुनिएको सूचना दिएका छन्।
रातको समय भएकाले घटनास्थलमै पुगेर यकिन गर्न नसकिए पनि जोखिम न्यूनीकरणका लागि पूर्वसतर्कता अपनाइएको उनले बताए।
‘स्थानीयले खोला अलिअलि थुनिएको खबर गरेका छन्, हामी त्यसलाई भेरिफाई गर्ने प्रयासमा छौँ,’ सहायक प्रजिअ बरालले नागरिक न्युजसँग भने, ‘रातको समय भएकाले अहिले मान्छे पठाउन सकिएन। भोलि बिहान उज्यालो हुनासाथ सुरक्षाकर्मीको टोली पठाउँछौं।’
कुनै अप्रिय घटना नहोस् भनेर घान्द्रुकभन्दा माथिदेखि नै नदी किनारमा नजान सूचना जारी गरिएको र जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको प्रशासनले जनाएको छ।
‘प्रहरीमार्फत खोला किनारका सबै बस्तीमा खबर पठाएका छौं, माइकिङ गरेर मानिसहरूलाई सतर्क गराउने र सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको छ,’ बरालले थपे।
किम्रुङ खोला तल आएर नयाँपुल र बिरेठाँटी क्षेत्रनजिकै मोदी खोलामा मिसिन्छ। यसअघि पनि उक्त खोला थुनिँदा तटीय क्षेत्रमा कटानको जोखिम भएको थियो।
प्रशासनले किम्रुङ र मोदी खोलाको किनारमा बसोबास गर्ने नयाँपुल, बिरेठाँटी तथा आसपासका बासिन्दालाई रातको समयमा सचेत रहन विशेष अपिल गरेको छ।
प्रकाशित: २३ भाद्र २०८३ २०:३७ मंगलबार





