२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

एमाले अध्यक्षमा ईश्वर पोखरेललाई मेरो समर्थन छ : उपाध्यक्ष पाण्डे

नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले आगामी महाधिवेशनमा पार्टी अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई आफ्नो समर्थन रहने स्पष्ट पारेका छन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै उपाध्यक्ष पाण्डेले पोखरेलको अध्यक्षको दाबीलाई स्वाभाविक बताउँदै आफ्नो साथ रहने घोषणा गरेका हुन्।

कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले ईश्वर पोखरेलले अध्यक्ष पदमा दाबी गर्नु राम्रो कुरा भएको बताए। उनले पोखरेलले दाबी गर्न अझ ढिलो गरेको टिप्पणी समेत गरे।

‘उहाँ (ईश्वर पोखरेल) लाई मेरो समर्थन छ, पहिले पनि थियो,’ पाण्डेले भने, ‘म त भन्छु- उहाँले दाबी गर्न ढिलो गर्नुभयो। दुई कार्यकाल महासचिव र वरिष्ठ उपाध्यक्ष भइसकेको मान्छेले अहिले होइन, उहिल्यै ‘म रोलमा उभिसकेँ, मैले क्षमता देखाइसकेँ’ भनेर भन्नुपर्थ्यो।’

पाण्डेले पार्टीभित्र नेतृत्वका लागि जति धेरै दाबी र आकांक्षा आउँछन्, त्यसले लोकतन्त्रको दायरालाई फराकिलो बनाउने तर्क गरे।

‘स्वाभाविक रूपमा नेता कार्यकर्ताले नेतृत्वको आकांक्षा राख्दा र दाबी गर्दा पार्टीभित्र डेमोक्रेसीको स्पेस बढ्दै जान्छ,’ उनले भने, ‘कसैले दाबी नै गरेन भने त के हुन्छ ? दाबी गर्नु राम्रो कुरा हो।’

एमालेको आगामी महाधिवेशनमा वर्तमान अध्यक्ष केपी शर्मा ओली नै सर्वसम्मत हुने चर्चा चलिरहेका बेला उपाध्यक्ष पाण्डेले वरिष्ठ उपाध्यक्ष पोखरेलको पक्षमा खुलेर मत जाहेर गरेका हुन्।

प्रकाशित: १८ मंसिर २०८२ ०८:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App