८ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

मुस्लिम समुदायको सशक्तीकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक: उपराष्ट्रपति

उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुस्लिम आयोगले सात वर्षको अवधिमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै मुस्लिम समुदायको अधिकार, पहिचान र सशक्तीकरणमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन आवश्यक रहेको बताएका छन्।

मुस्लिम आयोगको सातौँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै उनले संविधानले सुनिश्चित गरेको समानता, न्याय र समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मूर्तरूप दिन आयोगले शिक्षा, रोजगारी, महिला सशक्तीकरण, सामाजिक सद्भाव र सांस्कृतिक उत्थानका क्षेत्रमा उल्लेखनीय काम गरेको बताए।

‘मुस्लिम समुदायले नेपालको इतिहास, संस्कृति, व्यापार, शिक्षा, कला र सामाजिक सद्भावमा पुर्‍याएको योगदान अमूल्य छ’, उपराष्ट्रपति यादवले भने, ‘मुस्लिम आयोगले भविष्यमा अझ उज्ज्वल यात्राको सङ्कल्प लिनुपर्ने आवश्यकता छ। त्यसका लागि मुस्लिम युवालाई गुणस्तरीय शिक्षा, निजामती सेवा, न्याय सेवा, सेना–प्रहरी तथा कूटनीतिक निकायमा जनसङ्ख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्न विशेष कार्यक्रम सञ्चालन गर्नुपर्छ।’

उनले मुस्लिम महिलालाई सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न सक्षम बनाउने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए।

‘नेपाल विविधता र सहअस्तित्वको सुन्दर बगैंचा हो, मुस्लिम समुदायले आफ्नो संस्कृति, परम्परा र विश्वासका फूलहरू फुलाउँदै साझा पहिचानलाई अझ सुगन्धित बनाएको छ’, उपराष्ट्रपति यादवले भने।

उनले मुस्लिम आयोगले समुदायको अधिकार प्रवर्द्धन, क्षमता विकास तथा सशक्तीकरणका कार्यक्रमलाई अझ प्रभावकारी ढङ्गले कार्यान्वयन गरी सुखी, समृद्ध र आत्मनिर्भर समुदाय निर्माणमा अग्रणी भूमिका खेलोस् भन्ने शुभेच्छा व्यक्त गरे।

उपराष्ट्रपति यादवलेसम्पूर्ण इस्लाम धर्मावलम्बीहरूमा आज मनाईँदै गरेको ईद–उल–फित्रको पावन अवसरमा हार्दिक शुभकामना दिए। समारोहमा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो। 

प्रकाशित: ७ चैत्र २०८२ १९:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App