नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको दाबी गर्दै आफ्नो सम्पत्ति छानबिन गर्न चुनौती दिएका छन्।
आफूमाथि लाग्दै आएका भ्रष्टाचारका आरोपहरूको खण्डन गर्दै उनले सम्पादकहरूको टोली बनाएरै आफ्नो सम्पत्ति छानबिन गर्न र सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका हुन्।
आइतबार सम्पादकहरूसँगको संवाद कार्यक्रममा अध्यक्ष ओलीले आक्रोश र व्यङ्ग्य मिश्रित शैलीमा भने, ‘ए बाबा, तपाईंहरू पनि एउटा टोली बनाएर छानबिन गर्नुस् न हो। अरूको सक्नुहुन्न भने केपी ओली एउटाको छानबिन गर्नुस् न त।’ उनले पत्रकार महासंघ वा सम्पादक मण्डलले नै समिति बनाएर छानबिन गर्न सक्ने विकल्पसमेत सुझाए।
जेन-जी आन्दोलनका क्रममा आफ्नो घर जलेकोतर्फ इङ्गित गर्दै उनले थपे, ‘मेरो डढेको घरको खरानीको कणकणको तपाईंहरूले हिसाब गर्नुस्। किनभने त्यो बाहेक अरू चिज मसँग छैन।’
आफ्नो बैंक खाता रोक्का गर्ने हल्ला चलेको प्रति टिप्पणी गर्दै ओलीले सांसद र मन्त्री हुँदा पाएको तलबबाहेक आफ्नो कुनै अस्वाभाविक आम्दानी नरहेको सुनाए।
‘मैले सांसदको हैसियतले, मन्त्रीको हैसियतले प्राप्त गरेको केही स्यालरी बैंकमा छ, त्यही रोक्ने होला,’ उनले भने, ‘त्यो त थाहा छ होला नि, महिनाको कति पाएको छु, एकछिनमा हिसाब निक्लिँदैन त्यो ?’
उनले आफ्नो सम्पत्ति छानबिन गर्न आयोग नै आवश्यक नपर्ने भन्दै बैंक स्टेटमेन्ट र सेयर कारोबारको विवरण हेर्न सकिने बताए।
उनले विश्वभरका सरकारलाई सूचना जारी गरेर आफ्नो नाममा कतै सम्पत्ति छ कि भनेर खोज्न पनि चुनौती दिए।
प्रकाशित: २ कार्तिक २०८२ १५:२४ आइतबार





