राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवी लामिछानेले झापा-५ मा आफू भोट माग्न नभई न्याय माग्न आएको बताएका छन्। मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले बताएका हुन्।
‘भोट त सबैले पाउँछन्, चुनाव सबैले जित्छन्, तर न्याय पाउनका लागि एक युग पर्खनुपर्छ,’ उनले भने, ‘म झापा–५ मा न्याय माग्न आएको छु। अन्याय ममाथि पनि भएको हो, तर म आफ्नो लागि न्याय माग्न आएको होइन। अन्याय ममाथि मात्रै भएको होइन, म पनि त्यसको सिकार भएको छु। मेरो चिन्ता गर्नु पर्दैन, देशको न्यायका लागि एक पटक मतदान गरौँ।’
उनले झापा–५ इतिहास बदल्न तयार छ कि छैन हेर्न चाहेको बताउँदै सडकबाटै इतिहास फेर्ने समय आएको दाबी गरे। ‘देशलाई न्याय गर्नुपर्ने छ र देशलाई न्याय गर्ने विश्वास झापा–५ का मतदातासँग छ,’ उनले भने।
देश अहिले महत्वपूर्ण मोडमा उभिएको भन्दै उनले भने, ‘जब–जब जनता जागे, तब–तब देश बदलिएको छ। बाटोमा आमाबुबाले रोकेर भन्नुभएको छ-बाबु, यो देश बचाऊ।’ उनले झापा–५ बाटै देश बन्ने र बच्ने सन्देश दिने बताए । झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र साहको पक्षमा मत माग्न लामिछाने मंगलबार झापा पुगेका हुन्।
प्रकाशित: १२ फाल्गुन २०८२ १३:१७ मंगलबार





