२० मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

घर फर्किएँ, धेरै खुसी छु; समाजवादीमा बिताएका चार वर्ष खेर गए: झाँक्री

नेकपा (एमाले) मा फर्किएपछि नेतृ रामकुमारी झाँक्रीले आफू अत्यन्तै खुसी रहेको र घर आइपुगेको अनुभूति भएको बताएकी छिन्।

साथै, नेकपा (एकीकृत समाजवादी) मा बिताएको करिब चार वर्षको अवधि भने बर्बाद भएको र राजनीतिक रूपमा त्यो अवधि उपलब्धिहीन रहेको टिप्पणी गरिन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै नेतृ झाँक्रीले पार्टी विभाजनदेखि एमाले पुनरागमनसम्मका आफ्ना राजनीतिक अनुभव र अनुभूतिबारे खुलेर चर्चा गरिन्।

‘म एकदमै खुसी छु। घर मिस भएको थियो, अब आइपुगेँ जस्तो भयो,’ उनले भनिन्, ‘मैले एमालेको संगठन, साथीभाइ र यहाँको समग्र वातावरण धेरै मिस गरेकी रहेछु।’

एकीकृत समाजवादीमा रहँदाको अनुभवबारे सोधिएको प्रश्नमा उनले भनिन्, ‘ती चार वर्ष एकदमै बर्बाद भएका समय हुन्। राजनीतिक रूपमा मैले त्यो समय खेरै फ्याँकेँ जस्तो भयो।’

उनले आफ्नो ८ महिने मन्त्री कार्यकाल बाहेक बाँकी समय कुनै राजनीतिक काम (बिजनेस) नै नभएको र व्यक्तिगत रूपमा समेत छटपटीमा बितेको स्वीकार गरिन्।

विगतको आफ्नो आक्रामक ‘फायर ब्रान्ड’ छविमाथि आत्मालोचना गर्दै नेतृ झाँक्रीले उमेर र अनुभवले आफूमा परिपक्वता ल्याएको बताइन्।

‘अहिले आएर हेर्दा अभिव्यक्तिमा केही न केही लगाम त आफैँले लाउनुपर्ने रहेछ। उमेर पनि ४० प्लस भयो,’ उनले भनिन्, ‘राज्यले कानुन बनाएर गर्ने सेन्सरसिपभन्दा लोकतन्त्रमा आफ्नो सेन्सरसिप नै सबैभन्दा मजबुत हुँदो रहेछ।’

उनले एकीकृत समाजवादीको आन्तरिक संरचना र कार्यशैलीप्रति पनि असन्तुष्टि व्यक्त गरिन्। पार्टीको विधान नै प्रतिगामी रहेको र नेतृत्वमा ६५ वर्षभन्दा माथिका नेताहरूको बाहुल्यताले युवा पुस्तालाई कुनै ठाउँ नदिएको उनको आरोप थियो।

तत्कालीन एकीकृत समाजवादीबाट नेपाली कम्युनिष्ट पार्टीमा गएका नेताहरूप्रति आफ्नो कुनै दुराग्रह वा घृणा नरहेको तर अब कुनै आशक्ति पनि बाँकी नरहेको उनले स्पष्ट पारिन्।

आफूले अर्को पार्टीमा रहँदा पनि केपी शर्मा ओलीलाई नै आफ्नो नेता मानेको उनको भनाइ थियो।

प्रकाशित: २६ कार्तिक २०८२ १९:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App