नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले पार्टी एकताका लागि जस्तोसुकै जिम्मेवारी लिन र त्याग गर्न तयार रहेको बताएका छन् ।
कोइरालाले आम नेता कार्यकर्ताले पार्टीलाई एकताबद्ध बनाउनका लागि सहयोग गर्नुपर्ने पनि बताए ।
अहिले पार्टी विभक्त अवस्था जस्तो देखिएकाले मुलुकको हितका लागि कांग्रेसलाई एकताबद्ध बनाउनुको विकल्प नरहेको उनको भनाइ छ।

आफू सधैँ सिंगो कांग्रेसको पक्षमा रहेको बताउँदै उनले कांग्रेस एकताका लागि जस्तोसुकै जिम्मेवारी लिन र त्याग गर्न पनि तयार रहेको बताए ।
पूर्वमहामन्त्री कोइरालाले कृषि उत्पादनमा वृद्धि, किसानको सम्मान र समृद्ध नेपालको निर्माणमा सबैको साझा प्रयास सफल हुनुपर्ने बताएका छन् । किसानको हितमा काम गर्न सकेमात्र नेपालको समृद्ध सम्भव हुने उनको भनाइ छ ।
राष्ट्रिय धान दिवसका अवसरमा आफैँले दही चिउरा खाने कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका कोइरालाले कांग्रेसलाई एकताबद्ध बनाउनु अहिलेको आवश्यकता भएको बताए ।
कोइराला निवास महाराजगञ्जमा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ता सहभागी थिए । कांग्रेसका महामन्त्री गुरुराज घिमिरे, कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बे, पूर्वमहामन्त्री कृष्ण सिटौला, पूर्वउपसभापति प्रकाशमान सिंह नेताहरू, एनपी साउद, चन्द्र भण्डारी, डा मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, शंकर भण्डारी, मोहन बस्नेत, दिपक खड्का, दिपक गिरी, रमेश लेखक, रामहरी खतिवडा, विभिन्न जिल्ला पार्टी सभापतिहरू, प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद कार्यक्रममा सहभागी भएका थिए ।

नेपालले २०६१ सालदेखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो । नेपाली समाजमा खेतमा रोपाईं गरी असार १५ मा दही चिउरा खाएर मनाउने परम्परा रहेको छ । यो दिन रोपाईं गरी दही चिउरा खानाले गति परिने विश्वास अनुरूप आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाईं गरी हिलो छ्यापेर रमाइलो गरी दही चिउरा खान गरिन्छ ।
प्रकाशित: १५ असार २०८३ १७:४१ सोमबार





