राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा भएको खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।
चितवन निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवार बनेका लामिछानेले कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ निर्वाचन खर्च भएको विवरण पेश गरेका हुन्। उक्त विवरण प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिता अनुसार बुझाइएको छ।
निर्वाचन खर्च विवरणमा विभिन्न शीर्षकमा भएको खर्च समावेश गरिएको छ। विवरणअनुसार मनोनयन दर्ता खर्च १० हजार रुपैयाँ, नमुना मतपत्र सामग्री छपाइ ६८ हजार १६१ रुपैयाँ, तथा यातायात र इन्धन खर्च २ लाख ९५ हजार रुपैयाँ खर्च भएको उल्लेख छ।
यसैगरी मतदाता प्रशिक्षणका लागि खाजा खर्च १४ हजार २०० रुपैयाँ, बृहत् प्रचारप्रसार ४६ हजार रुपैयाँ, तथा प्रचार सामग्री (झण्डा र व्याच) खरिदमा १ लाख १२ हजार रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ।
त्यस्तैगरी ब्यानर र स्टिकर खरिदमा ५५ हजार रुपैयाँ, खाद्यान्न तथा रासन खरिदमा १ लाख ९६ हजार रुपैयाँ, हवाई यात्रा खर्च १३ हजार ६२६ रुपैयाँ, तथा गोष्ठी तथा भेलामा १ लाख ८० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।

प्रकाशित: २७ फाल्गुन २०८२ १०:३२ बुधबार





