१० चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

नयाँ सांसदले कति बुझ्छन् तलब र भत्ता ?

फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको मतपरिणामसँगै नयाँ जनादेश प्राप्त भएको छ । यही जनादेश अनुसार संघीय संसदका सदस्यहरू आफ्नो कार्यभार सम्हाल्न संघीय राजधानी काठमाडौं आउनेक्रम सुरु भएको छ ।  

नयाँ कार्यकालिका अनुसार चैत ११ गते ज्येष्ठ सदस्य पहिचान भएका नेपाली कांग्रेस समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका अर्जुननरसिंह केसीले शपथ लिँदैछन् । केसीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउने छन् ।

राष्ट्रपति पौडेलबाट शपथ लिएका केसीले प्रतिनिधिसभाका सदस्यलाई शपश गराउने कार्यसूची छ । संसद सचिवालयका अनुसार सबै सांसदलाई चैत १२ गते शपथ गराउने गरी संघीय संसद सचिवालयले सूचना जारी गरेको छ ।  

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनबाट १६५ तथा समानुपातिक निर्वाचनबाट ११० सहित २७५ जना सांसद आएका छन् । यी सांसदले संसदमा आएर देश संञ्चालनको नीति नियम र कानुन तयार पार्ने छन् ।  

देशका प्रतिनिधि भएर आउने सांसदलाई सरकारले मासिक पारिश्रमिकसहित विभिन्न आर्थिक, भौतिक सुविधा उपलब्ध गराउने गरेको छ । सांसद र प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षसहित विभिन्न जिम्मेवारीमा रहेका सबैको बेग्लाबेग्लै सेवा सुविधा हुने गरी ‘संघीय स‌ंसदका पदाधिकारीको सुविधा सम्बन्धि ऐन २०७३’ बनेको छ ।  

कसको तलब कति ?

‘संघीय संसदका पदाधिकारीको सुविधा सम्बन्धी ऐन, २०७३’ अनुसार प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख, प्रमुख प्रतिपक्षी दलको नेता, प्रमुख सचेतक, सचेतक तथा सांसदको फरक फरक सुविधा पाउँछन् ।  

ऐनमा गरिएको व्यवस्था अनुसार प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको मासिक पारिश्रमिक ६७ हजार ३२० रुपैयाँ छ । प्रतिनिधि सभामा विपक्षी दलको नेता, उपसभामुख र उपाध्यक्षको मासिक तलब ६० हजार ९७० रुपैयाँ छ । त्यस्तै राष्ट्रिय सभामा विपक्षी दलको नेता, सत्ता पक्षको नेता र मुख्य सचेतकको मासिक तलब ६० हजार ९७० रुपैयाँ तलब छ ।  

प्रतिनिधि सभामा विपक्षी दलको प्रमुख सचेतक, सत्ता पक्षको प्रमुख सचेतक तथा विभिन्न समितिमा सभापतिको भूमिकामा रहने व्यक्तिको तलब पनि ६० हजार ९७० रुपैयाँ नै तोकिएको छ । दलको प्रमुख सचेतक, सत्ता पक्षको सचेतक र विपक्षी दलको सचेतकको मासिक तलब ५७ हजार ७८० रुपैयाँ छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यको मासिक तलब भने ५५ हजार २३० रुपैयाँ व्यवस्था गरिएको छ ।  

तलब बाहेकको अतिरिक्त सेवा सुविधा के हुन्छ ?

मासिक रुपमा तलबसँगै स‌ंसदका पदाधिकारी तथा सांसदले विभिन्न रकम बुझ्ने गर्छन् । सांसद तथा पदाधिकारीका लागि विशेष भत्ता, बैठक भत्ता, सञ्चार सुविधा (टेलिफोन इन्टरनेट पत्रपत्रिका), आवास सुविधा, फर्निचर, निजी सचिवालय बन्दोबस्त, गार्डघर, सवारी इन्धन, मोबिल, यातायात सुविधा, बिजुली धारा, दैनिक भ्रमणभत्ता, यात्रा बिमा, परिचालकलाई लुगा भत्ता (दृष्टिविहीन वा शारीरिक रुपले अशक्त पदाधिकारीका साथ रहने परिचाकललाई समेत), मृत्यु भएको पदाधिकारी वा सदस्यको परिवारलाई आर्थिक सहायता, अशक्त भएको पदाधिकारी वा सदस्यलाई सहायता शीर्षकमा सुविधा दिइने गरिएको छ ।  

निजी सचिवालयको सुविधा भएका सभामुखसहितका पदाधिकारीलाई थप र बेग्लै व्यव्थापन गरिएको छ ।  

तलब र भत्तासँगै मासिक बुझ्ने रकम कति ?

ऐनले गरेको व्यवस्था अनुसार एक सांसदले एक महिनामा ५२ हजार २३० पारिश्रमिक, प्रतिमहिना एक हजारका दरले विशेष भत्ता, बैठक अनुसार प्रतिबैठक एक हजार बैठक भत्ता, प्रतिमहिना तीन हजार सञ्चार सुविधा, प्रतिमहिना १८ हजार आवास सुविधा, काठमाडौंमै घर हुनेले आवास सुविधावापत नौ हजार रुपैयाँ पाउनेछन् ।  

फर्निचर बापत एकमुष्ट १५ हजार, यातायात सुविधा बैठक अनुसार प्रतिदिन एक हजार रुपैयाँ, बिजुली धारा प्रति महिना दुई हजार रुपैयाँ, दैनिक भ्रमणभत्ता प्रतिदिन दुई हजार पाँच सय रुपैयाँ, यात्रा बिमा १० लाख रुपैयाँ, मृत्यु भएको पदाधिकारी वा सदस्यको परिवारलाई आर्थिक सहायता एकमुष्ठ दुई लाख रुपैयाँ, अशक्त भएको पदाधिकारी वा सदस्यलाई सहायता एकमुष्ठ ५० हजार रुपैयाँ उपलब्ध गराइने व्यवस्था छ ।  

यसरी नियमित रुपमा प्रतिमहिना आउने पारिश्रमिक र भत्ता जोड्दा एक सांसदले एक महिनामा ८० हजार २३० रुपैयाँ प्राप्त गर्नेछन् ।  यसमा बैठक अनुसारको बैठक र यातायात खर्च थपिने छ । जस्तो एक महिनामा १५ बैठक भएका सांसदको एक महिनामा ३० हजार अतिरिक्त आम्दानी हुनेछ ।

यसका साथै अतिरिक्त फर्निचर खर्च एकमुष्ट १५ हजार रुपैयाँ र राजपत्रांकृत तृतीय श्रेणीको स्वकीय सचिव प्रत्येक सांसदले सुविधा वापत पाउने व्यवस्था ‘संघीय संसदका पदाधिकारीको सुविधा सम्बन्धी ऐन, २०७३’ मा गरिएको छ ।  

सभामुखको सेवा सुविधा के के ?

प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले एक महिनामा मासिक पारिश्रमिक वापत ६७ हजार ३२०, विशेष भत्ता एक हजार,  सञ्चार सुविधा तीन हजार, आवास सुविधा २८ हजार २७५, निजी बन्दोबस्त दुई हजार, गार्डघर दुई हजार,  बिजुली धारा बिल अनुसार, अतिथि सत्कार दुई हजार पाँच सय मासिक रुपमा पाउने छन् ।  

बिजुली र धाराको बिल बाहेक सभामुख र अध्यक्षले मासिक एक लाख ६ हजार ९५ रुपैयाँ बुझ्छन् । योसँगै बैठक भत्ता प्रतिबैठक एक हजार, फर्निचन खर्च एकमुष्ट १५ हजार, सवारी इन्धन प्रतिमहिना २५० लिटर, मोबिल त्रैमासिक १० लिटर प्राप्त गर्नेछन् ।  

सचिवालयमा स्वकीय सचिव राजपत्रांकित प्रथम, द्वितीय र तृतीय श्रेणीका तीन जना, कम्प्यूटर अपरेटर एक जना, सवारी चालक प्रथमस्तरका दुई जना र कार्यालय सहयोगी प्रथमस्तरका दुई जना, प्रिन्टरसहितको कम्प्यूटर, दुईटा साइकल,  पदिक तहको अंग रक्षक एक जना, प्रहरी सहायक निरीक्षक तहको अंग रक्षक एक जना, बिल्लादार गार्ड एक जना र सैनिक जवान १० जना उपलब्ध गराइने व्यवस्था ऐनले गरेको छ।

प्रतिनिधि सभामा विपक्षी दलका नेता, उपसभामुख र उपाध्यक्ष, राष्ट्रिय सभामा विपक्षी दलको नेता सत्ता पक्षको नेता र सत्ता पक्षको मुख्य सचेतक विपक्षी दलको प्रमुख सचेतक र सभापति, दलको प्रमुख सचेतक, सत्ता पक्षको सचेतक र विपक्षी दलको सचेतकलाई निजी सचिवालय तयार पार्न जनशक्तिसहितको पूर्वाधार उपलब्ध गराउने व्यवस्था ऐनले गरेको छ।

ऐनमा व्यवस्था भएअनुसार निर्वाचित सांसदले पहिलो पटक काठमाडौं आउँदा यात्रा खर्च पाउने व्यवस्था छ । यसका लागि उनीहरूले आफू चढेका जहाज वा बसको टिकट संसद् सचिवालयमा बुझाउनुपर्नेछ। काठमाडौंमा आइसकेपछि सांसदहरूलाई घरभाडा तथा फर्निचरको सुविधा उपलब्ध हुन्छ ।  

यसैगरी संघीय संसदको कामको सिलसिलामा नेपालभित्र वा बाहिर भ्रमण गर्दा पदाधिकारी वा सदस्यलाई दैनिक भ्रमण भत्ता दुई हजार ५०० रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको छ।

ऐनअनुसार प्रतिनिधिसभाका सदस्य वा कुनै पदाधिकारीको पदावधि समाप्त नहुँदै मृत्यु भई वा निजले राजीनामा दिई वा प्रतिनिधिसभा विघटन भई त्यस व्यक्ति आफ्नो पदमा कायम नरहेमा त्यस्तो पदाधिकारी वा सदस्यको सदस्यता कायम रहेको दिनसम्म पाउने पारिश्रमिकको अतिरिक्त एक महिनाको पारिश्रमिक बराबरको थप रकम दिइने उल्लेख छ।

यसैगरी पदाधिकारी वा सदस्यको मृत्यु भए पदाधिकारी वा सदस्यले कसैलाई इच्छाएको रहेनछ वा इच्छाएको व्यक्ति जीवित रहेनछ भने त्यस्तो रकम त्यस व्यक्तिको नजिकको हकवालालाई दिइनेछ भनी ऐनमा उल्लेख छ।

प्रकाशित: १० चैत्र २०८२ २०:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App