गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
ढिलासम्म चलेको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न खोज्दा निश्कल राईले गणपूरक सङ्ख्यामाथि प्रश्न उठाएका थिए।
सचेतक राईको मागपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले तीन मिनेट घण्टी बजाएर सांसदहरूको सङ्ख्या गणना गर्न निर्देश गरेका थिए।
नियमानुसार प्रस्ताव निर्णयार्थ पेस गर्न कम्तीमा ६९ जना सांसद उपस्थित हुनुपर्नेमा गणना गर्दा ६१ जना मात्रै पुगेपछि बैठक अघि बढ्न सकेन।
गणपूरक सङ्ख्या नपुगेका कारण खानी तथा खनिज पदार्थ विधेयकमाथिको प्रस्ताव निर्णयार्थ पेस हुन सकेन। यो प्रस्ताव स्वीकृत भएको खण्डमा सांसदहरूका लागि विधेयकमाथि संशोधन हाल्ने ७२ घण्टाको समय सीमा सुरु हुने थियो। अब अर्को बैठकमा गणपूरक सङ्ख्या पुगेपछि मात्र यो कार्यसूची अघि बढ्नेछ।
सभामुख अर्यालले प्रतिनिधिसभाको आगामी बैठक आगामी भदौ १ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका छन्।
प्रकाशित: २६ श्रावण २०८३ २०:३९ मंगलबार





