१७ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

एमाले कार्यकर्ताबाट दुर्व्यवहारमा परेका ज्येष्ठ नागरिकलाई गृहमन्त्रीले घरमै पुगेर भेटे

गृहमन्त्री सुदन गुरुङले नेकपा (एमाले) का कार्यकर्ताबाट सडकपेटीमा अभद्र व्यवहार खेपेका ज्येष्ठ नागरिकलाई उनकै निवासमा पुगेर भेटेका छन्।

आइतबार ललितपुरको लगनखेलस्थित पाटन मानसिक अस्पताल अगाडि हिँडिरहेका ती ज्येष्ठ नागरिकमाथि एमाले कार्यकर्ता रामशरण शर्मा बजगाईं लगायतका समूहले दुर्व्यवहार गरेका थिए।

गृहमन्त्री गुरुङले मंगलबार ती ज्येष्ठ नागरिकको घरमै पुगेर उनको स्वास्थ्य अवस्था र घटनाबारे जानकारी लिएका हुन्।

भेटका क्रममा मन्त्री गुरुङले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कानुनबमोजिम कडा कारबाही हुने आश्वासन दिएका छन्। उनले राज्य नागरिकको सुरक्षामा गम्भीर रहेको र कोही पनि कानुनभन्दा माथि हुन नसक्ने कुरा दोहोर्‍याएका छन्।

ज्येष्ठ नागरिकलाई भेटेपछि गृहमन्त्री गुरुङले भनेका छन्, ‘हरेक नागरिकलाई कसैले दुःख दिएको छ कि छैन भनेर सरकारले नजिकबाट नियालिरहेको छ। कृपया ध्यान दिनुहोला, कानुनभन्दा माथि कोही पनि छैन।’

एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा प्रदर्शन गरिरहेका ३० वर्षीय बजगाईं र उनका समूहले ती ज्येष्ठ नागरिकमाथि अभद्र व्यवहार गरेका थिए।

घटनाको समयमा बजगाईंको समूहले एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा प्रदर्शन गरिरहेको थियो। सोही क्रममा ती ज्येष्ठ नागरिकले एमालेविरुद्ध नारा लगाएका थिए। त्यसपछि बजगाईंको समूह उनीमाथि जाइलागेको थियो।

घटनालगत्तै ललितपुर प्रहरीले बजगाईंलाई गोदावरी नगरपालिका–१० बाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर ललितपुरमा राखी अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: १७ चैत्र २०८२ २२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App