गृहमन्त्री सुधन गुरुङले पोखरास्थित फेवाताल मापदण्डभित्र परेको जग्गाको भाडा आफूले नतिर्ने प्रष्ट पारेका छन्।
सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले उक्त जग्गा सरकारी भएको र मापदण्डविपरीतको संरचनामा भाडा तिर्न आवश्यक नभएको दाबी गरेका हुन्।
पोखराको सिम्ले लामिडाँडामा जग्गा भाडामा लिएर वर्षौंसम्म पैसा नतिरेको जग्गाधनीको आरोपमाथि जवाफ दिँदै गृहमन्त्री गुरुङले यस्तो बताएका हुन्।
‘मापदण्डमा परेको चिजको भाडा किन तिर्ने भन्ने कुरा हो। त्यो त सरकारी जमिन हो, भाडा सरकारलाई बुझाउनुपर्छ,’ उनले भनेका छन्।
आफूले जग्गाधनीलाई बुझाएको अग्रिम भाडा उनीहरूले नै राज्यलाई बुझाउनुपर्ने उनले सुनए।
तालको मापदण्डमा परेर संरचना भत्किँदा वा लगानी डुब्दा आफूलाई कुनै आपत्ति नभएको उनको भनाइ छ। ‘राज्यको हिसाबले जे गर्नुपर्छ त्यही गर्ने हो, डुब्यो अब त्यति डुबिसकेपछि ठिकै छ, केही फरक पर्दैन,’ सञ्चारकर्मीको प्रश्नमा उनले भनेका छन्।
यसअघि जग्गाधनी ओमबहादुर गुरुङले गृहमन्त्रीले आफ्नो जग्गा भाडामा लिएर पाँच वर्षदेखि भाडा नतिरेको र सम्पर्कविहीन भएको दाबीसहित समाचारहरु प्रकाशित भएका थिए।
ओमबहादुरका अनुसार करिब ६ वर्षअघि १५ वर्षका लागि वार्षिक २ लाख रुपैयाँ तिर्ने गरी सुधनले जग्गा भाडामा लिएका थिए। तर, एक वर्षको मात्र भाडा दिएर रिसोर्टको भौतिक संरचना बनाएपछि उनी फर्केर आएका थिएनन्।
प्रकाशित: २३ चैत्र २०८२ १६:२१ सोमबार





