गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबारको मन्त्रिपरिषद बैठकमा गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् ।
सोमबार देशभर प्रदर्शन गरेको जेन जी पुस्ताको आवाज र क्षमतालाई नजरअन्दाज गर्दै सुरक्षा सतर्कता अपनाउनुको साटो गोली ठोक्ने आदेश दिएर निहत्याको ज्यान लिएको आरोप गृहमन्त्रीलाई छ ।
गृहमन्त्रीले प्रधानमन्त्री ओलीलाई राजीनामा बुझाउनुअघि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका थिए ।
बैठकमा सहभागी कांग्रेस नेताहरूले पनि सोमबारको घटनामा सरकार दोषी रहेको निष्कर्षसहित गृहमन्त्रीले राजीनामा दिनुपर्ने आवाज उठाएका थिए ।
गृहमन्त्री लेखकलाई कांग्रेसको पदाधिकारी बैठकमा उच्च नैतिकता देखाएर राजीनामा दिन दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सुझाव दिएका थिए ।
सुझाव सुनेपछि गृहमन्त्री राजीनामा दिने मनस्थितिमा पुगेका थिए । पदाधिकारी बैठकपछि मन्त्रिपरिषद बैठकमा भाग लिन बालुवाटार पुगेका गृहमन्त्रीले त्यही राजीनामा बुझाएका छन् ।
उनले राजीनामा बुझाए पछि यो घटनाको पूर्ण जिम्मेवारी लिनुपर्ने आवाज सामाजिक सञ्जालमा उठेको छ । राजीनामा दिएर घटनाबाट उन्मुक्ति दिन नमिल्ने र गृहमन्त्री लेखकलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग जबरजस्त उठाइएको छ।
गृहमन्त्रीसँगै यो घटनामा जोडिएका सबै सरकारी निकायमा रहेकाले राजीनामा दिनुपर्ने र ज्यान मार्ने उद्योगमा कारबाही हुनुपर्ने माग उठाइएको छ।
अहिले देशका विभिन्न ठाउँमा कर्फ्यू जारी भएको छ । यही अवस्था रहे भोलि के हुने भन्ने अन्यौल नै छ । यद्यपी घटनाको जवाफ लिने दावी जेन जी पुस्ताका युवाको छ।
सोमबारको प्रदर्शनका क्रममा २० जनाको ज्यान गएको छ । दुई सय ५० भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ।
प्रकाशित: २३ भाद्र २०८२ २०:३० सोमबार





