गृहमन्त्री ओमप्रकाश अर्यालसहित गृह मन्त्रालयको उच्चस्तरीय टोलीले सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंको अनुगमन तथा निरीक्षण गरेको छ।
निरीक्षणका क्रममा गृहमन्त्री अर्यालले परिसरअन्तर्गतका सम्पूर्ण शाखाहरूको अवस्थाबारे जानकारी लिए। सोही क्रममा उनले पुरुष तथा महिला हिरासत कक्षमा पुगेर त्यहाँ रहेका थुनुवाहरूसँग सोधपुछसमेत गरेका छन्।
थुनुवाहरूले आफूहरूले पाइरहेको सुविधाप्रति सन्तुष्ट रहेको प्रतिक्रिया दिएको मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन्।
अनुगमन टोलीमा गृहसचिव राजकुमार श्रेष्ठ, मन्त्रालयको सुरक्षा समन्वय महाशाखा प्रमुख एवं प्रवक्ता आनन्द काफ्ले, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र गृहमन्त्रीका निजी सचिव परशुराम पोखरेललगायत सहभागी थिए।
सोही अवसरमा गृहमन्त्री अर्यालले परिसर हाताभित्र वृक्षारोपणसमेत गरेका छन्।
अनुगमनका क्रममा परिसर प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले हाल प्रवाह भइरहेको सेवा, परिसरको विद्यमान अवस्था र आगामी योजनाबारे मन्त्रीलाई ब्रिफिङ गरेका थिए।
साथै, उनले भर्खरै सम्पन्न निर्वाचनअघि, निर्वाचनका बेला र त्यसपछिको सुरक्षा व्यवस्थापनमा अपनाइएको रणनीतिका विषयमा पनि जानकारी गराए।
नेपाल प्रहरीले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गर्दै गृहमन्त्री अर्यालले प्रहरी संगठन सामूहिक नेतृत्वको अवधारणाबाट अघि बढेको बताए।
प्रकाशित: २५ फाल्गुन २०८२ २१:१४ सोमबार





