गृहमन्त्री ओमप्रकाश अर्यालले गएराति धादिङमा भएको बस दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
उनले कलङ्कीस्थित नेपाल नेशनल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर घाइतेहरूको अवस्था र उपचारबारे जानकारी लिएका हुन्।
त्यस अवसरमा मन्त्री अर्यालले घाइतेहरूको उपचारलाई सरकारले उच्च प्राथमिकता दिएकाले कुनै सन्देह नलिन सुझाव दिए।
उनले दुवै अस्पतालका चिकित्सकलाई घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन आग्रह गरे।
पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस गएराति १ः३० बजेतिर धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ भैँसीगौडामा त्रिशूली नदी किनारमा खसेको थियो।
घटनामा बसमा सवार ४४ यात्रुमध्ये १९ जनाको मृत्यु र २५ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ। घाइतेहरूको काठमाडौंको ट्रमा सेन्टरसहित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यसअघि मन्त्री अर्यालको अध्यक्षतामा गृह मन्त्रालयमा आजै बसेको बैठकले घाइतेहरूको उपचारलाई प्राथमिकता दिने तथा घटनाको सत्यतथ्य पत्ता लगाउन दुर्घटना जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो।
प्रकाशित: ११ फाल्गुन २०८२ १७:४९ सोमबार





