२७ वैशाख २०८३ आइतबार
image/svg+xml
राजनीति

सीमापार तस्करी नियन्त्रणमा गृहमन्त्री गुरुङले मागे सांसदहरूको सुझाव

सीमापार तस्करी नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यले शुक्रबार गृहमन्त्रालयमा उच्चस्तरीय छलफल भएको छ। छलफलमा गृहमन्त्री सुदन गुरुङ तथा मधेश र लुम्बिनी प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरूको सहभागिता रहेको थियो। सरकारले सीमाक्षेत्रबाट हुने तस्करी नियन्त्रणका लागि भन्दै एक सय रुपैयाको सामान पनि वैद्य तरिकाले भित्र्याउन निर्देशन दिँदै सीमा क्षेत्रमा कडाइँ गरेको छ।  

बैठकमा सहभागी सांसदहरूले सीमा क्षेत्रमा बढ्दो तस्करीलाई नियन्त्रण गर्न तत्काल प्रभावकारी उपायहरू अवलम्बन गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले विद्यमान भन्सार प्रणालीमा सुधार आवश्यक रहेको उल्लेख गर्दै भन्सार दर पुनरावलोकन गर्नुपर्ने धारणा राखे।  

त्यसैगरी, सीमाक्षेत्रमा निगरानी र अनुगमनलाई थप सुदृढ बनाउन आधुनिक तथा प्रभावकारी संयन्त्र विकास गर्नुपर्ने सुझाव पनि प्रस्तुत गरिएको थियो। कृषि सामग्री तथा मलखादको आयात प्रक्रियालाई सहज बनाउन भन्सार प्रक्रिया सरलीकरण गर्नुपर्नेमा समेत जोड दिइएको छ।

सांसदहरूले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको दैनिक जीवनलाई ध्यानमा राख्दै निश्चित मापदण्डका आधारमा उपभोग्य सामग्रीको आयातमा सीमित भन्सार छुट दिनुपर्ने प्रस्ताव पनि अघि सारेका थिए।  

छलफलका क्रममा उठेका गृहमन्त्रालयसँग सम्बन्धित विषयहरू मन्त्रालयले कार्यान्वयन गर्ने तथा अर्थ मन्त्रालयसँग सम्बन्धित विषयहरूमा आवश्यक समन्वय र थप छलफलमार्फत समाधान खोज्ने सहमति गरिएको छ।  

सरकारले सीमापार तस्करी नियन्त्रणलाई प्राथमिकतामा राख्दै विभिन्न निकायबीच समन्वय गरेर दीर्घकालीन समाधानतर्फ अघि बढ्ने संकेत यस छलफलले दिएको छ।

प्रकाशित: ४ वैशाख २०८३ २०:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App