गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरस्थित केन्द्रीय कारागारको खाली रहेको ब्लकलाई बाल सुधार गृहका रूपमा सञ्चालनमा ल्याउन स्थलगत निरीक्षण गरेका छन्।
शनिबार कारागार पुगेर उनले १८ वर्ष माथिका बालबिज्याइँकर्तालाई राख्ने गरी तयार गर्न लागिएको संरचनाको अवलोकन गरेका हुन्।
मन्त्रिपरिषद्को यही पुस ३ गते बसेको बैठकले नुवाकोट कारागारका चार ब्लकमध्ये खाली रहेको एउटा ब्लकलाई बाल सुधार गृहका रूपमा परिणत गर्ने निर्णय गरेको थियो।
देशका विभिन्न सुधार गृहमा रहेका १८ वर्ष माथिका बालबिज्याइँकर्ताको व्यवस्थापनमा समस्या देखिएपछि सरकारले उनीहरूलाई नुवाकोट सार्ने तयारी गरेको हो।
अवलोकनका क्रममा गृहमन्त्री अर्यालले पूर्वाधार तयार गरी बालबिज्याइँकर्तालाई चाँडै स्थानान्तरण गरिने बताए।
सरकारको यो निर्णयसँगै बाँकेको जयेन्दु, वीरगञ्जको बिर्ता र भक्तपुरस्थित बाल सुधार गृहमा उमेर समूहका कारण हुने झडप र सुरक्षा चुनौती कम हुने अपेक्षा गरिएको छ।
प्रस्तावित सुधार गृहमा ५०० जनासम्म बालबिज्याइँकर्तालाई सहज तरिकाले राख्न सकिने जनाइएको छ। हाल नुवाकोट कारागारका सञ्चालित तीन वटा ब्लकमा ८७३ जना कैदीबन्दी र थुनुवा रहेका छन्।
निरीक्षणका क्रममा मन्त्री अर्यालले कैदीबन्दी र थुनुवाहरूसँग अन्तरक्रिया गर्दै उनीहरूको गुनासो सुनेका थिए। उनले कैदीबन्दीको खानपान, बसोबास र स्वास्थ्य सुविधार्फत चासो राख्दै मानवअधिकारको उच्च सम्मान गर्न कारागार प्रशासनलाई निर्देशन दिए।
‘कारागारभित्र हुने हरेक गतिविधि कानुनी र मानवअधिकारका दृष्टिकोणले मर्यादित हुनुपर्छ,’ प्रशासनलाई निर्देशन दिँदै अर्यालले भने।
साथै, कैदीबन्दीका आफन्त भेटघाटमा आउँदा सास्ती भोग्नुपरेको गुनासो सम्बोधन गर्न कारागारसम्म पुग्ने जीर्ण सडक तत्काल सुधार गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
हाल देशभर ८ वटा बाल सुधार गृह सञ्चालनमा छन्। जसमध्ये ४ वटा युसेफ नेपाल नामक गैरसरकारी संस्थाको व्यवस्थापनमा चलिरहेका छन्।
सुधार गृहहरूमा १८ वर्ष नाघेका र कम उमेरका बालबालिकालाई एकै ठाउँमा राख्दा बेला–बेलामा झडप र विवादका घटनाहरू हुने गरेका छन्।
प्रकाशित: ५ पुस २०८२ २१:२५ शनिबार





