निर्वाचन आयोगले हुम्ला र डोल्पासहित १५ जिल्लाका ६१ स्थानबाट मतपेटिका हेलिकप्टरमार्फत संकलन गर्ने जनाएको छ। दुर्गम भौगोलिक अवस्थालाई मध्यनजर गर्दै ती क्षेत्रमा मतदान सामग्री र कर्मचारीसमेत हवाइ मार्गबाटै पठाइएको जानकारी आयोगले दिएको छ।
आयोगले निर्वाचनको तयारीबारे जानकारी दिन आज आयोजना गरेको पत्रकार सम्मेलनमा विशेषगरी हिमाली जिल्लाहरूमा स्थलमार्ग अवरुद्ध हुने सम्भावना र दूरीका कारण हेलिकप्टर प्रयोग गर्न लागिएको स्पष्ट पारेको हो। हुम्ला र डोल्पाका मतदान केन्द्रमा आवश्यक सामग्री सुरक्षित रूपमा पुर्याइसकिएको पनि आयोगले जनाएको छ।
अन्य जिल्लाहरूमा भने सवारी साधनमार्फत, सबै सुरक्षा संयन्त्रको समन्वयमा मतपेटिका संकलन गरिनेछ। एकीकृत सुरक्षा व्यवस्थाअनुसार सरकारले आवश्यक सुरक्षा प्रबन्ध मिलाएको आयोगको भनाइ छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदान र मतपेटिका संकलनका क्रममा तीन घेराको सुरक्षा व्यवस्था लागू गरिएको छ, जसअन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यक परे नेपाली सेनासमेत परिचालन गरिनेछ।
प्रकाशित: २० फाल्गुन २०८२ १५:१४ बुधबार





