२५ भाद्र २०८३ बिहीबार
image/svg+xml
राजनीति

अस्पताल बाहिरै प्रसूति भएको घटनामा स्वास्थ्य मन्त्रीको चासो, छानबिन टोली राजविराज पठाइयो

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले शिशु जन्माएको घटनाप्रति स्वास्थ्य मन्त्री निशा मेहताले गम्भीर ध्यानाकर्षण बताएकी छिन्।

अस्पतालमा उपचारका लागि पुगेकी महिलाले अस्पताल परिसरबाहिरै प्रसूति हुनुपरेको घटना सार्वजनिक भएपछि मन्त्रालयले घटनालाई गम्भीरतापूर्वक लिँदै तत्काल छानबिन प्रक्रिया अघि बढाएको हो।

मन्त्री मेहताले सामाजिक सञ्जाल मार्फत आफ्नो धारण सार्वजनिक गर्दै प्रत्येक नागरिकले स्वास्थ्य संस्थामा पुग्दा समयमै उपचार, सम्मानजनक व्यवहार र मानवीय संवेदना पाउने अधिकार रहेको बताउँदै घटनाको सत्य तथ्य पत्ता लगाउन मन्त्रालयले तत्काल छानबिन टोली राजविराज पठाएको बताइन्।

मन्त्रालयले अस्पताल प्रशासनसँग घटनाबारे स्पष्टीकरणसमेत माग गरेको छ। छानबिनबाट घटनाको वास्तविक अवस्था पत्ता लगाई तथ्य सार्वजनिक गरिने मन्त्रालयको भनाइ छ।

घटनाको छानबिनका क्रममा स्वास्थ्यकर्मी वा सम्बन्धित कर्मचारीको गल्ती, लापरबाही वा सेवा प्रवाहमा कमजोरी देखिएमा प्रचलित कानुनअनुसार कारबाही गरिने मन्त्री मेहताले स्पष्ट पारेकी छन्।

स्वास्थ्य संस्थामा उपचारका लागि आउने नागरिकले आर्थिक, सामाजिक वा अन्य कुनै कारणले अपमानित वा उपचारबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना हुन नहुने मन्त्रालयको धारणा छ।

मन्त्री मेहताले स्वास्थ्य सेवाप्रति नागरिकको विश्वास कायम राख्नु मन्त्रालयको प्रमुख दायित्व भएको उल्लेख गर्दै नागरिकको स्वास्थ्य अधिकार र सम्मानजनक उपचार सेवाप्रति मन्त्रालय सदैव संवेदनशील र प्रतिबद्ध रहेको बताएकी छन्।

यसअघि अस्पताल प्रशासनले पनि घटनाबारे प्रारम्भिक विवरण सार्वजनिक गर्दै आमा र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको तथा घटनाको आन्तरिक छानबिन अघि बढाउने जनाएको थियो।

मन्त्रालयले समेत छुट्टै छानबिन टोली पठाएपछि अस्पताल परिसरबाहिर प्रसूति हुन पुगेको घटनाको वास्तविक कारण र जिम्मेवारी अब छानबिनबाट स्पष्ट हुने देखिएको छ।

प्रकाशित: २५ भाद्र २०८३ १६:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App