२२ मंसिर २०८२ सोमबार
image/svg+xml
राजनीति

ज्ञानेन्द्रले भने- इन्द्रको बाबु चन्द्रे प्रधानमन्त्री भए पनि यो व्यवस्थाले माखो मार्दैन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा पूर्व सांसद ज्ञानेन्द्र शाहीले वर्तमान शासकीय स्वरूप र नेतृत्वप्रति आक्रोश पोख्दै प्रदेश संरचना खारेजीको विकल्प नरहेको बताएका छन्।

काठमाडौंको रत्नपार्कमा हुने विरोध सभाको पूर्वसन्ध्यामा नागार्जुन र चन्द्रागिरी नगरपालिकाको संयुक्त तयारी भेलालाई सम्बोधन गर्दै शाहीले यस्तो बताएका हुन्।

सम्बोधनका क्रममा नेता शाहीले वर्तमान संविधान र शासकीय स्वरूप रहेसम्म जुनसुकै पात्र सरकारमा आए पनि देशमा सुधार नहुने दाबी गरे।

उनले भने, ‘जबसम्म संविधानको धारा २८४ लगायतका भागबन्डा गर्ने धाराहरू खारेज हुँदैनन्, तबसम्म इन्द्रका बाबु चन्द्रे प्रधानमन्त्री भए पनि माखा मार्न सक्दैनन्।’

अदालतदेखि अख्तियार र निर्वाचन आयोगसम्म भागबन्डामा कार्यकर्ता भर्ती गरिएको आरोप लगाउँदै उनले भने, ‘न्याय परिषदमा भागबन्डा गरेर नियुक्त भएका न्यायाधीशबाट न्यायको आस गर्नु र कार्यकर्ता भर्ती केन्द्र बनेका संवैधानिक निकायबाट सुशासनको आस गर्नु बेकार छ।’

शाहीले जनताले तिरेको करको सदुपयोग नभएको भन्दै आक्रोश व्यक्त गरे। एउटा स्कुटर वा गाडी किन्दा जनताले चौबर कर तिर्नुपर्ने तर त्यसबापत शिक्षा, स्वास्थ्य र रोजगार केही नपाउने अवस्था रहेको उनले सुनाए।

‘जनताले कर तिरेर स्थानीय तहका सरकार र प्रदेशका छोटे महाराजधिराज पाल्नुपर्ने ?’ प्रश्न गर्दै शाहीले भने, ‘त्यसैले यो ४० अर्ब खर्च हुने, काम नलाग्ने प्रदेश संरचना खारेज गर्नैपर्छ। सुशीला कार्कीको सरकारले यो आँट गर्नुपर्छ।’

शाहीले अहिलेको संसदीय व्यवस्थालाई ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने’ थलोको संज्ञा दिए। चुनाव हारेकाहरूलाई पनि प्रधानमन्त्री बनाउने यो व्यवस्थाले देश कङ्गाल बनाएको उनको जिकिर थियो।

‘देशलाई गाह्रो पर्दा लुकेर बस्ने, सिंहदरबार जल्दा र आफ्नै घर जल्दा पनि सेनालाई आदेश दिन नसक्ने राष्ट्रपतिको के काम ?’ उनले प्रश्न गरे, ‘अब राष्ट्रपति हटाएर राजा स्थापित गर्ने हो। २३ गतेको आन्दोलन यसैका लागि हो।’

आगामि २३ गते रत्नपार्कमा हुने प्रदर्शन केवल विरोधका लागि नभई व्यवस्था परिवर्तनका लागि भएको उनले स्पष्ट पारे।

शाहीले भने, ‘हाम्रो माग स्पष्ट छ- प्रदेश खारेज हुनुपर्छ, भ्रष्टाचारीलाई जेल हालिनुपर्छ, धर्मनिरपेक्षता खारेज गरी हिन्दु राष्ट्र कायम हुनुपर्छ र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गरिनुपर्छ।’

उनले जेन्जी र युवा पुस्तालाई देशमै भविष्य सुनिश्चित गर्नका लागि अन्तिम लडाइँ लड्न तयार हुन आह्वान गरे। ‘पार्टीको झन्डा भन्दा ठूलो राष्ट्रिय झन्डा हो, २३ गते सबैले राष्ट्रिय झन्डा बोकेर सडकमा आउनुस्,’ शाहीले अपिल गरे।

प्रकाशित: २० मंसिर २०८२ १९:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App