पूर्वराजा ज्ञानेन्द्र शाहले यस पटक बडादसैँको शुभकामनामा दिँदै प्रस्तुत गरेका विचारले नेपाली राजनीतिकमा फेरि चासो जगाइदिएको छ। शुभकामना वक्तव्यमा पूर्वराजा शाहले नयाँ पुस्तालाई राष्ट्रको मेरुदण्डका रूपमा चित्रण गर्दै देशभक्तिपूर्ण ऊर्जा र नवीन सोचमार्फत नेपाल आत्मनिर्भर बन्न सक्छ भन्ने आशा व्यक्त गरेका छन्। विगतलाई दर्पणजस्तै हेरेर आत्म समीक्षा गर्ने शैली अपनाएको देखिन्छ। तर यो आत्म समीक्षा अपूरो मात्रै रहेको आलोचकहरूको भनाइ छ।
पूर्वराजा शाहले यस वर्षको दसैँ शुभकामनामा प्रस्तुत गरेका विचारहरूले केवल चाडपर्वको परम्परागत भावनालाई मात्र अटाएका छैनन्। बरु नेपालको वर्तमान राजनीतिक, सामाजिक र सांस्कृतिक अवस्थामाथि गहिरो टिप्पणी पनि गरेका छन्। उनको सन्देशले इतिहास, वर्तमान र भविष्यलाई जोड्ने प्रयास गरेको देखिन्छ। तर यसलाई मूल्याङ्कन गर्दा सकारात्मक र विवादास्पद दुवै आयाम भेटिन्छन्।
शुभकामनामा शाहले आफूलाई ‘पूर्व महाराज’ भनेर उल्लेख गर्नु आफैँमा नयाँ प्रयोग हो। यसलाई कतिपयले उनको राजनीतिक भूमिका र राजसंस्थाको अवशेषलाई पुनः परिभाषित गर्ने सङ्केतका रूपमा लिएका छन्। आफूलाई गद्दीबाट हटाउने प्रमुख राजनीतिक दलहरू जेन–जी आन्दोलनबाट सत्ताबाट पर धकेलिएका सन्दर्भमा आएको यो सन्देशले अनौपचारिक भए पनि शक्ति समीकरणमा नयाँ अर्थ थपेको छ।
उनले नयाँ पुस्तालाई राष्ट्रको मेरुदण्डका रूपमा चित्रण गर्दै उनीहरूको देशभक्ति, ऊर्जा र नवीन सोचले मात्र नेपाललाई आत्मनिर्भर र समृद्ध बनाउन सक्छन् भनेका छन्। यो भनाइले हालै सम्पन्न जेन–जी आन्दोलनसँग समानान्तर संकेत दिन्छ। तर आलोचनात्मक दृष्टिले हेर्दा, पूर्वराजाको समर्थन सांकेतिक मात्र हो, ठोस कार्यक्रम वा व्यवहारिक प्रस्ताव प्रस्तुत छैन। यसले सन्देशलाई प्रेरणादायी त बनाउँछ तर कार्यनीतिक खालको मार्गदर्शन भने दिन सक्दैन।
त्यस्तै उनले अतीतलाई दर्पणमा अनुहार हेर्ने उपमा मार्फत आत्मालोचना गर्ने शैली देखाएका छन्। प्रत्यक्ष शासनकालको जिम्मेवारी आफ्नो पनि रहेको स्विकार्नु दुर्लभ र साहसी कदम हो। तर उनले स्पष्ट रूपमा विगतका विवादास्पद कदम–जस्तै संसद् विघटन वा प्रत्यक्ष शासनको दमनकारी चरित्रबारे कुनै उल्लेख गरेका छैनन्। त्यसैले आत्मालोचनाको प्रयासले पूर्ण जिम्मेवारी वहन गरेको अनुभूति दिन सक्दैन। अतीतलाई बिर्सनु र नयाँ बाटो खोज्नु भन्ने उनको आह्वान सुन्दर लागे पनि, आत्मरक्षा ‘आधा अधुरो’ भएको आभास दिन्छ। यो भाषणात्मक समेटाइले वास्तवमा ऐतिहासिक अन्यायको समाधान खोज्नेभन्दा सतही मेलमिलापलाई प्राथमिकता दिएको जस्तो देखिन्छ।
सबैभन्दा संवेदनशील अंश भनेको उनले नेपाललाई भूराजनीतिक चक्रव्यूहमै नफस्ने र आफ्नो बाटो आफैँ बनाउने शक्तिसहितको देशका रूपमा उभिनुपर्ने सन्देश हो। नेपालजस्तो छिमेकी शक्तिहरूबिच अड्किएको मुलुकका लागि यो चिन्ता समयसापेक्ष छ। तर उनको शासनकालमै यस्तै चक्रव्यूहमाथि असन्तुलित निर्णयहरू भएको स्मृति अझै ताजा छ। त्यसैले उनको वर्तमान चेतावनी सत्य भए पनि विश्वास दिलाउने नैतिक बल भने सीमित छ।
शुभकामनामा शाहले आफूलाई अझै पनि राष्ट्रको अभिभावकका रूपमा प्रस्तुत गरेका छन्। त्याग, बलिदान र अखण्डताको रक्षा गर्ने जिम्मेवारीमा सबै नेपाली एक हुनुपर्ने उनको आह्वान अभिभावकीय ध्वनिमा प्रकट हुन्छ। तर लोकतान्त्रिक संरचनाभित्र पूर्वराजाको यस्तो भूमिकालाई अप्रासंगिक देखिन्छ। कतिपयले यसलाई राजसंस्थाको औचित्य पुनः स्थापनाको सांकेतिक प्रयासका रूपमा व्याख्या गर्न थालेका छन्। गणतन्त्र स्थापनाको दुई दशक नपुग्दै फेरि राजसंस्थालाई अप्रत्यक्ष औचित्य दिने प्रयास उपयुक्त पनि हुँदैन।
यसरी हेर्दा पूर्वराजाको दसैँ शुभकामना सन्देश दुई वटा तहमा पढ्न सकिन्छ। एकातिर उनले राष्ट्रिय एकता, नयाँ पुस्ताप्रतिको आस्था र आत्म समीक्षाको भाव बोकेका छन्, जसले वर्तमान अस्थिर राजनीति र जेन–जी आन्दोलनपछि थिलथिलो बनेको व्यवस्थामा सन्देशको महत्त्व बढाएको छ। तर अर्कोतर्फ, उनको आत्मालोचना अपूरो, कार्यनीति अस्पष्ट र परोक्ष रूपमा राजसंस्था पुनर्जीवनको संकेत रहेको देखिन्छ। चाडपर्वको अवसरमा शुभेच्छा व्यक्त गर्दै उनले नयाँ पुस्ताप्रतिको भरोसा र राष्ट्रिय स्वाधीनताको चेतावनी दिन खोजे पनि, विगतसँगको अपूरो हिसाबकिताब र वर्तमान गणतान्त्रिक व्यवस्थामाथि अप्रत्यक्ष प्रश्न चिन्ह खडा गर्ने शैलीले यसलाई आलोचनायोग्य बनाएको छ।
प्रकाशित: १५ आश्विन २०८२ १७:२३ बुधबार




-600x400.jpg)
