नेपालमा राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत देशभरि झण्डै ४४ हजार युवा नेतृत्वमा उदाएका छन्।
पार्टीको नयाँ व्यवस्था अनुसार ३५ वर्ष मुनिका झण्डै ४४ हजार युवाले पार्टीको पदीय जिम्मेवारी नै पाएको कांग्रेसको विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलले जानकारी दिए। उनले नेपालका कुनै पार्टीमा एकै पटक यति धेरै युवाले पदीय जिम्मेवारी नै पाएको इतिहासमै पहिलो पटक भएको दाबी समेत गरेका छन्।
नयाँ विधानमा हरेक वडाबाट ३५ वर्ष मुनिका एक महिलासहित कम्तीमा तीन युवालाई क्षेत्रीय प्रतिनिधि निर्वाचित गराउनुपर्ने व्यवस्था रहेकाले ६ हजार ७४३ वडाबाट कम्तीमा तीन जनाको दरले २० हजार २२९ जना निर्वाचित भएका छन्। तर हरेक वडामा क्रियाशील सदस्य संख्याका आधारमा कम्तीमा तीन जनादेखि बढीमा सात जनासम्म निर्वाचित हुन सक्ने व्यवस्था छ। त्यो अनुसार औसतमा ५ जना निर्वाचित हुन्छन् भन्ने मान्दा ३३ हजार ७१५ जना ३५ वर्ष मुनिका युवा क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएका छन्। त्यसैगरी हरेक गाउँपालिकाको वडामा एक जना र नगरपालिकाको वडामा दुई जनाका दरले कार्यसमिति सदस्यमा निर्वाचित हुने व्यवस्था छ।
नेपालमा अहिले गाउँपालिका तर्फ ३ हजार २१५ वडा रहेका छन् भने नगरपालिका तर्फ ३ हजार ५२८ वडा रहेका छन्। त्यसैले गाउँपालिकाको वडामा ३ हजार २१५ जना वडा सदस्य निर्वाचित भएका छन् भने नगरपालिका तर्फका वडाहरूमा ३ हजार ५२८ मा दुई जनाको दरले ७ हजार ५६ जना युवा वडा सदस्यमा निर्वाचित भएका छन्। यसरी कुल क्षेत्रीय प्रतिनिधि ३३ हजार ७१५ जना र वडा सदस्य १० हजार २७१ जना गरी कुल ४३ हजार ९८६ जना युवाले पदीय जिम्मेवारी लिएका छन्।
ती पदमा निर्वाचित हुन कम्तीमा दोब्बर संख्यामा प्रतिस्पर्धीहरू रहेकाले कांग्रेसको अधिवेशनमा झण्डै एक लाख युवाले महाधिवेशनमा प्रतिस्पर्धा गरेको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालले जनाएका छन्।
तीनै क्षेत्रीय प्रतिनिधिहरूबाट गाउँपालिका तथा नगरपालिकाको कार्यसमितिमा एक महिलासहित कम्तीमा ३ जना चयन भइसकेका छन् भने प्रदेश निर्वाचन क्षेत्रमा एक जना, संघीय निर्वाचन क्षेत्रको कार्यसमितिमा २ जना र जिल्ला कार्यसमितिमा एक महिलासहित तीन जना कार्यसमितिमा निर्वाचित हुँदैछन्।
त्यसैगरी तीनै क्षेत्रीय प्रतिनिधिहरू मध्येबाट हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा एक महिलासहित ३ जनाको दरले देशभरिबाट ४९५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र एक एक जनाको दरले १६५ जना महासमिति सदस्य चयन हुन लागेको पनि निर्वाचन समितिका सदस्य सचिव कटुवालले जानकारी दिए।
नयाँ विधान अनुसार हरेक निर्वाचन क्षेत्रबाट एक महिलासहित २ जना प्रदेश प्रतिनिधि हुने छन् भने सातै प्रदेशमा दुई महिलासहित कम्तीमा ५ जना प्रदेश कार्यसमिति सदस्य हुनेछन्। केन्द्रीय कार्यसमितिमा पनि पहिलो पटक हरेक प्रदेशबाट एक युवा र एक युवतीसहित कुल १४ जना युवा प्रवेश गर्ने भएका छन्।
पार्टीमा यति ठुलो संख्यामा युवाहरूले पदीय जिम्मेवारी नै लिएको र एक लाखभन्दा बढीले उम्मेदवारी दिएर प्रतिस्पर्धा गरेकोले कांग्रेसको संगठनमा युवाको दबदबा ह्वात्तै बढेको विधान मस्यौदा समितिका सदस्य सचिव पौडेलले बताए। कांग्रेस अब पुरै युवामय पार्टी भइसकेको उनको भनाइ छ।
प्रकाशित: १२ आश्विन २०८३ २०:३४ सोमबार





-600x400.jpg)