भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई स्थायी आवास निर्माण नहुँदासम्म सरकारले मासिक आवास खर्च उपलब्ध गराउने भएको छ।
सरकारले चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ दिने निर्णय गरेको छ। चार जनाभन्दा बढी सदस्य रहेको परिवारका लागि भने प्रत्येक थप सदस्यबापत मासिक २ हजार रुपैयाँ थप रकम उपलब्ध गराइनेछ।
सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाका अनुसार गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावितको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकता दिँदै उक्त निर्णय गरेको हो।
स्थायी घर निर्माण नहुँदासम्म आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापन गर्न यो रकम उपलब्ध गराइने सरकारले जनाएको छ।
नगद आवास सुविधा लिन नचाहने परिवारका लागि सरकारले नै स्थायी आवास निर्माण सम्पन्न नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प समेत दिएको छ।
मन्त्री तिमिल्सिनाका अनुसार सहायता उपलब्ध गराउन आवश्यक विवरण तथा तथ्याङ्क संकलनका लागि सम्बन्धित स्थानीय तहहरूमा फाराम पठाइसकिएको छ।
प्रकाशित: २८ भाद्र २०८३ १५:१४ आइतबार





