२१ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

खाली ठाउँमा कर्मचारी पठाउन सरकारको ताकेता: तीन दिनभित्र विवरण पठाउन निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह र प्रदेश सरकार मातहतका सम्पूर्ण कार्यालयलाई तीन दिनभित्र स्वीकृत दरबन्दीको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।

मन्त्रालयले हालै पत्राचार गर्दै प्रत्येक कार्यालयमा स्वीकृत दरबन्दी, कार्यरत कर्मचारीको संख्या तथा रिक्त पदहरूको यथार्थ विवरण तत्काल पठाउन आग्रह गरेको हो। मन्त्रालयका अनुसार कर्मचारी व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन यस्तो विवरण संकलन आवश्यक भएको जनाएको छ।

संघीय संरचनामा कर्मचारी समायोजनपछि विभिन्न तहमा दरबन्दी असन्तुलन, कर्मचारी अभाव तथा कतिपय स्थानमा अत्यधिक कर्मचारी केन्द्रित भएको गुनासो आइरहेका बेला मन्त्रालयले वास्तविक अवस्था पहिचान गर्न यो कदम चालेको हो।

मन्त्रालयले तोकिएको समयसीमाभित्र विवरण उपलब्ध नगराउने निकायप्रति आवश्यक कारबाहीसमेत गर्न सकिने चेतावनी दिएको छ।

यस विवरणका आधारमा आगामी दिनमा कर्मचारी पुनःव्यवस्थापन, दरबन्दी मिलान तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ।

सरकारले सार्वजनिक सेवा प्रवाह सुधार गर्ने उद्देश्यसहित कर्मचारी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आएको सन्दर्भमा यो निर्णयलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

 

प्रकाशित: २० चैत्र २०८२ २१:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App