१५ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

बेटिङ एप बन्द गर्ने सरकारकाे निर्णय

सरकारले इन्टरनेटमार्फत सञ्चालन भइरहेका सट्टेबाजीसम्बन्धी एप र वेबसाइटहरू तत्काल बन्द गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्तो निर्देशन दिँदै सम्बन्धित निकायमार्फत कार्यान्वयन सुरु गरेको जनाएको छ। 

मन्त्रालयका अनुसार सट्टेबाजी (बेटिङ) सम्बन्धी एप तथा वेबसाइटहरू २४ घण्टाभित्र बन्द गर्ने व्यवस्था गरिएको छ। यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी यस्ता प्लेटफर्महरू अविलम्ब अवरुद्ध गर्न निर्देशन दिइएको छ। हालसम्म पहिचान भएका सट्टेबाजीसम्बन्धी अधिकांश एप तथा वेबसाइटहरू बन्द गरिसकिएको मन्त्रालयले स्पष्ट पारेको छ। 

सरकारले यस्तो कार्यलाई प्रचलित कानुनविपरीत ठहर गर्दै कानुनी कारबाहीको चेतावनीसमेत दिएको छ। मुलुकी अपराध संहिता, २०७४ अनुसार जुवातास तथा सट्टेबाजीसम्बन्धी क्रियाकलाप सञ्चालन वा प्रोत्साहन गर्ने व्यक्तिलाई कैद तथा जरिवानाको व्यवस्था रहेको छ। त्यसैगरी, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ ले पनि जुवासम्बन्धी प्रचारप्रसारमा प्रतिबन्ध लगाएको छ। 

मन्त्रालयले सर्वसाधारणलाई यस्ता गैरकानुनी एप तथा वेबसाइट प्रयोग नगर्न आग्रह गरेको छ। यदि कसैले अवैध रूपमा सट्टेबाजीसम्बन्धी सेवा सञ्चालन वा प्रयोग गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ। 

साथै, यस्ता गतिविधि सञ्चालन भइरहेको जानकारी भएमा सम्बन्धित निकायलाई सूचित गर्न समेत सर्वसाधारणसँग अनुरोध गरिएको छ।

प्रकाशित: १५ चैत्र २०८२ १९:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App