१ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

चलचित्र क्षेत्रको विकासका लागि सहयोग गर्न सरकार तयार छ : सञ्चारमन्त्री तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कला, संस्कृति तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्रको संरक्षण, प्रवद्र्धन र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।

विश्वप्रसिद्ध ‘एकेडेमी अफ मोसन पिक्चर आट्र्स एन्ड साइन्सेज (अस्कर अवार्ड) को ९९औँ संस्करणका लागि नेपालको प्रतिनिधित्व गरिरहेको चलचित्र ‘तिनीहरु–एलिफेन्ट्स इन द फग’ को टोलीसँग आज मन्त्रालयमा भएको भेटमा सञ्चारमन्त्री डा तिमिल्सिनाले कला क्षेत्रको जगेर्ना गर्नु राज्यको दायित्व भएको बताए।

उक्त चलचित्रका निर्माता अनुप पौडेल, कलाकार एलिज घिमिरेलगायत सहभागी टोलीले चलचित्र क्षेत्रको विकास र अन्तर्राष्ट्रियस्तरमा नेपाली चलचित्रको प्रवद्र्धनका लागि सरकारका तर्फबाट सहयोग तथा सहकार्यको अपेक्षा राखेको थियो।

सञ्चारमन्त्री तिमिल्सिनाले समग्र चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनका लागि मन्त्रालयबाट आवश्यक पर्ने सहयोग उपलब्ध गराउन सरकार तयार रहेको स्पष्ट पारे।

उनले नेपाली कला, संस्कृति र राष्ट्रिय महत्वका विषयवस्तुलाई चलचित्रमार्फत अन्तर्राष्ट्रियस्तरमा पुर्याउने प्रयासलाई सरकारले प्रोत्साहन गर्ने बताए।

सञ्चारमन्त्री तिमिल्सिनाले सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्न सरकार नीतिगत रूपमा अघि बढिरहेको जानकारी दिए।

यस्तै, उनले चलचित्र क्षेत्रको विकासका लागि आवश्यक नीतिगत सुधारलाई समेत प्राथमिकतामा राखिएको बताए। अहिले संसद्मा विचाराधीन रहेको चलचित्र विधेयकलाई बलियो र कार्यान्वयनयोग्य बनाउने गरी काम भइरहेको उनले जानकारी दिए।

चलचित्र क्षेत्रमा लामो समयदेखि अपेक्षा गरिएको नीतिगत तथा संरचनागत परिवर्तनलाई व्यवहारमै अनुभूत हुनेगरी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।

अविनाशविक्रम शाह निर्देशित ‘तिनीहरु’ यसअघि कान्स फिल्म फेस्टिभलमा समेत पुरस्कृत भएको थियो। अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्राप्त सो उपलब्धिलाई सम्मान गर्दै चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डले उक्त चलचित्रलाई रु दुई लाख ५० हजार सम्मान प्रदान गरेका थिए।

निर्माता पौडेलका अनुसार अस्करको ९९औँ संस्करणका लागि छनोट भएसँगै चलचित्रले अन्तर्राष्ट्रियस्तरमा नेपालको चलचित्र उद्योग, कला, संस्कृति र मौलिक कथावस्तुको प्रतिनिधित्व गर्नेछ।

प्रकाशित: ३१ भाद्र २०८३ १४:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App