सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रलाई हल्ला र अपुष्ट सूचनाबाट टाढा रहँदै जिम्मेवार पत्रकारिता गर्न आग्रह गेका छन्। आइतबार विदुर नगरपालिका–४ बट्टारमा आयोजित पत्रकार भेटघाटमा उनले अभिव्यक्ति स्वतन्त्रता महत्वपूर्ण भए पनि त्यसको नाममा भ्रामक सामग्री फैलाउनु उचित नहुने स्पष्ट पारे।
उनले सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले आत्मअनुशासन र आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिए। 'सरकार सबै समस्याको समाधान कारबाहीबाट मात्रै खोज्ने पक्षमा छैन, सञ्चार क्षेत्र आफैँ जिम्मेवार बन्नु जरुरी छ,' उनले भने।
मन्त्री तिमिल्सिनाले हरेक समाचारले पार्ने असरबारे गम्भीर विश्लेषण गर्नुपर्ने बताउँदै भ्रामक सूचनाले छोटो समयमै ठूलो क्षति पुर्याउन सक्ने बताए। साथै, सरकारी विज्ञापन र सूचना प्रकाशनमा पारदर्शिता ल्याउन सरकारले नयाँ नीति कार्यान्वयनमा ल्याएको जानकारी पनि दिए।
उनका अनुसार सरकारी सूचना सरकारी सञ्चारमाध्यममार्फत् प्रवाह गर्ने व्यवस्था पारदर्शितासँग जोडिएको विषय हो। सञ्चार जगत आफैँले उठान गरेका यस क्षेत्रका अनियमितता हटाउन सरकार अघि बढेको उनको भनाइ छ।
प्रकाशित: ६ वैशाख २०८३ १३:११ आइतबार




-600x400.jpg)