नेपाल कम्युनिष्ट पार्टी (एमाले) की प्रतिनिधि सभा सदस्य गंगादेवी श्रेष्ठले वर्तमान सरकारको गतिविधिका कारण जनताको धैर्यताको बाँध फुट्ने बताएकी छिन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले बैठकमा प्रधानमन्त्री र सरकारको कार्यशैलीप्रति आक्रोश व्यक्ति गर्दै सरकारको रवैयालाई ‘नाटकीय’ संज्ञा दिइन्।
‘गाडी तेर्स्याएर अभिनय सरकारले गर्छ, कारबाहीको नाटक सरकारले नै गर्छ। सरकार कलाकार नै पर्यो। कथा कहाँ लेखियोरु यो सामान्य छैन। आफैँ बोक्सी आफैँ झाँक्री,’ उनले भनिन्।
सांसद श्रेष्ठले सरकार नेपाली नागरिकको भावना र मनोविज्ञानसँग खेल्न खप्पिस रहेको बताउँदै निर्वाचनअघि गरिएका बाचा र निर्वाचनपछिको यथार्थ निकै फरक भएको बताइन्।
उनले भनिन्, ‘चुनाव अघि चुपचाप, चुनाव पछि सुकुम्वासी साफ। चुपचाप होल्डिङ सेन्टर बास, चुपचाप शैक्षिक सेन्टर साफ।’ राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै उनले थपिन्, ‘आमा घण्टीमा भोट दिए म घर आउनेछु भन्न लगायो। घरमै बसी बसी २ लाख कमाउँछु भन्न लगायो। तर विडम्बना, १ महिनामै सुकुम्वासीको घर भत्कियो।’
प्रकाशित: ३१ असार २०८३ १४:४१ बुधबार





