राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा गाडीसहित बेपत्ता भएका नागरिकको उद्धारमा सरकार गम्भीर नभएको आरोप लगाएका छन्।
उनले विपद् व्यवस्थापन र उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्ने दाबी सरकारले संसदमा गरे पनि कर्णालीमा भएको घटनामा झण्डै २० घण्टा बितिसक्दा समेत उद्धारका लागि हेलिकप्टर परिचालन गर्न नसकेको बताएका हुन्।
'विपत् व्यवस्थापन र उद्धारका लागि हेलिकप्टर राख्छु भनेर संसदमा ठूला-ठूला गफ गर्ने सरकार, कर्णालीमा गाडीसहित बेपत्ता भएका नागरिकको उद्धारमा भने झण्डै २० घण्टा बितिसक्दा पनि हेलिकप्टर पठाउन सकेको छैन,' उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।
शाहीले संकटका बेला नागरिकको ज्यानभन्दा ठूलो कुनै प्राथमिकता नहुने उल्लेख गर्दै पीडित परिवार आफ्ना आफन्तको सकुशल उद्धारको आशामा रातभर जागा बस्न बाध्य भएको र अझै राज्यको उपस्थितिको अनुभूति हुन नसकेको टिप्पणी गरे। उनले विपद् व्यवस्थापनका नाममा गरिएका प्रतिबद्धता भाषण र घोषणामै सीमित भए त्यसको कुनै अर्थ नरहने भन्दै यस्तो संवेदनशील अवस्थामा राज्यले आफ्नो सम्पूर्ण संयन्त्र तत्काल परिचालन गरी उद्धार कार्यलाई तीव्र बनाउनुपर्ने बताए।
सांसद शाहीले प्रत्येक क्षण अमूल्य हुने उल्लेख गर्दै ढिलो भएको हरेक मिनेटले कसैको जीवनसँग प्रतिस्पर्धा गरिरहेको बताएका छन्। उनले सरकारलाई राजनीति नभई मानवताको पक्षमा उभिन आग्रह गर्दै उद्धार कार्यमा कुनै ढिलाइ नगरी आवश्यक सबै स्रोत–साधन तत्काल परिचालन गर्न माग गरेका छन्।
'सरकारसँग हार्दिक आग्रह छ- राजनीति होइन, मानवताको पक्षमा उभिनुहोस्। उद्धार कार्यमा कुनै ढिलाइ नगरी आवश्यक सबै स्रोत–साधन तत्काल परिचालन गर्नुहोस्,' उनले भने।
प्रकाशित: १९ असार २०८३ ०९:५५ शुक्रबार





