५ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
राजनीति

आफ्नै नागरिकमाथि धावा नबोल सरकार !

सुकुम्वासी बस्ती हटाउने कदमको विरोध, सरकारविरुद्ध कडा आलोचना

गतिशील लोकतान्त्रिक पार्टीले काठमाडौं उपत्यकाका नदी किनारामा रहेका सुकुम्वासी तथा अव्यवस्थित बस्ती हटाउने सरकारी कदमप्रति कडा आपत्ति जनाएको छ। पार्टीले दुई दिनको सूचनामा घर भत्काइएको भन्दै यसलाई अमानवीय र असंवेदनशील कार्यको संज्ञा दिएको छ।

पार्टी अध्यक्ष दिनेश प्रसाईद्वारा जारी विज्ञप्तिमा बस्ती हटाउँदा अत्यधिक बल प्रयोग गरिएको, हतियारधारी सुरक्षाकर्मी परिचालन गरी डोजर चलाइएको र प्रभावित नागरिकलाई वैकल्पिक व्यवस्थाविना विस्थापित गरिएको उल्लेख छ। विज्ञप्तिमा यस प्रक्रियामा कानुनी विधि, दीर्घकालीन व्यवस्थापन र नागरिकको आधारभूत आवश्यकताप्रति बेवास्ता गरिएको आरोप लगाइएको छ।

बस्ती हटाउने क्रममा उत्पन्न परिस्थितिका कारण दुई जना नागरिकको ज्यान गएको दाबी गर्दै पार्टीले घटनाप्रति गम्भीर छानबिन र जिम्मेवार निकायलाई जवाफदेही बनाउन माग गरेको छ।

विज्ञप्तिमा सरकारले आफ्नै नागरिकमाथि कठोर व्यवहार गरेको आरोप लगाउँदै यस्तो कदमले नागरिकको स्वाभिमानमा चोट पुगेको उल्लेख गरिएको छ। साथै, पीडितप्रति सहानुभूति जनाउन र नागरिक अधिकारप्रति सचेत हुन सबैलाई आग्रह गरिएको छ।

त्यसैगरी, लिपुलेक नाकाबाट भारत र चीनबीच कैलाश मानसरोवर यात्रासम्बन्धी गतिविधि अघि बढिरहँदा सरकारले औपचारिक धारणा सार्वजनिक नगरेकोप्रति पनि पार्टीले असन्तुष्टि जनाएको छ। सरकारले कमजोरप्रति कठोर र शक्तिशालीसँग नरम व्यवहार गरेको आरोप विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित: २० वैशाख २०८३ १९:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App