सुनसरी घटनापछि सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गणेश यादवको मृत्यु भएको घटनाको छानबिनका लागि गठन गरिएको उच्चस्तरीय समितिले प्रारम्भिक अनुसन्धान सम्पन्न गरी काठमाडौं फर्किएको छ।
गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा रहेको छानबिन टोलीले तीन दिनसम्म सिरहामा स्थलगत निरीक्षण, प्रमाण तथा तथ्य संकलन र सरोकारवालासँग छलफल गरेपछि प्रारम्भिक अनुसन्धान पूरा गरी बुधबार काठमाडौं फर्किएको हो।
गृह मन्त्रालयका उपसचिव तथा समितिका सदस्यसचिव कुलशेखर अर्यालका अनुसार टोलीले विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघ, स्थानीय समुदाय, प्रत्यक्षदर्शी, सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्दै घटनासम्बन्धी आवश्यक जानकारी संकलन गरेको छ।
समितिले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई धरान पुगेर भेटघाट पनि गरेको थियो। उपचारमा संलग्न चिकित्सकहरूको भनाइ उद्धृत गर्दै उपसचिव अर्यालले घाइतेको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको र दुई–तीन दिनभित्र अस्पतालबाट डिस्चार्ज गरिने जानकारी प्राप्त भएको बताए।
छानबिन समितिले तोकिएको समयसीमाभित्र घटनासम्बन्धी विस्तृत प्रतिवेदन गृह मन्त्रालयमा बुझाउने तयारी गरिरहेको जनाएको छ।
यसअघि समितिले सोमबार घटनास्थलको स्थलगत निरीक्षण गरेको थियो भने मंगलबार गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा सहभागी भई राजनीतिक दलका प्रतिनिधिहरूबाट घटनाबारे थप जानकारी र सुझाव संकलन गरेको थियो।
प्रकाशित: २० श्रावण २०८३ २०:०२ बुधबार





