१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

गोकुल भन्छन्: ओली डुब्दा म पनि डुब्छु

नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएका छन् ।  

आइतबार पार्टीको ११ औँ महाधिवेशनको उद्घाटनस्थल बाहिर पत्रकारहरूसँग कुरा गर्दै बास्कोटाले एमाले सबैभदा बलियो शक्ति भएर बाहिर निस्कने दाबी गरे । उनले भने, ‘एमाले पार्टी छ्वालीको लौरो होइन, यो बलियो स्टिलको लौरो हो, विविधता बिचको एकता नै एमाले हो ।’

बास्कोटाले वरिष्ठ उपाध्यक्ष पद हटाउने तथा अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, उपमहासचिव ३ जना र सचिव ९ जनासहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटी तथा  पोलिटब्युरो ९९ सदस्यीय र पोलिटब्युरोको एक तिहाइ सङ्ख्यामा स्थायी कमिटी बताउने केन्द्रीय कमिटीको निर्णय सहमतिबाट नै भएको पनि बताए ।  

उनले भने, ‘यो सैद्धान्तिक प्रश्न नभएर प्राविधिक विषय भएकोले यसरी नै जाऊँ भनेर अध्यक्षले भन्नुभयो, विभिन्न कुरा उठे तर मत–मतान्तर भने भएन।’

गोदावरीको विधान महाधिवेशन र अहिलेको अवस्थामा केही फेरबदल आएकोले व्यवस्थापनको लागि यस्तो निर्णय गरिएको उनले बताए । ‘सङ्ख्या १० औँ महाधिवेशनको जस्तै रह्यो, वरिष्ठ उपाध्यक्ष लगायतका केही पदाधिकारीको सङ्ख्या घट्यो तर पदाधिकारी सङ्ख्या १९ नै रहने भयो’, उनले भने ।  

बास्कोटाले प्रतिनिधिहरूको सहमतिबाट नै नेतृत्व टुङ्गियोस् भन्ने चाहना रहेको बताउँदै उहाँले सहमतिको लागि प्रयास हुने बताए । सहमति नभए मतदानबाट निर्णय हुने र त्यसले पनि एमाले पार्टीमा कुनै फरक नपर्ने बास्कोटाको धारणा छ । ‘प्रतिनिधिले गरेको निर्णय सबैले मान्नु पर्छ, मानिन्छ’, उनले भने ।

बास्कोटाले आफू केपी ओलीसँग पर नभएको पनि स्पष्ट पारेका छन् । ‘उहाँ र म एउटै पाटीमा छौँ, कसरी पर हुन्छु ? केपी ओली डुब्दा म पनि डुब्छु, म डुब्दा उहाँलाई पनि असर पर्छ, त्यसैले कुनै नेतालाई मैले सिरानी हालेर हिँड्नु पर्ने अवस्था छैन’, उनले भने ।  

अधिवेशनको बेलामा ‘आगो बलेको बेलामा धुवाँ आउँछ नि, यसलाई स्वाभाविक रूपमा लिनु पर्छ’, बास्कोटाले भने ।

 

प्रकाशित: २८ मंसिर २०८२ १५:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App