नेकपा एमालेका नेता गोकुल बास्कोटाले संघीयता खारेज गर्ने कि नगर्न भन्दै रास्वपालाई प्रश्न गरेका छन्।
उनले पहिले रास्वपाले संघीयता खारेज भन्ने गरेको जिकिर गर्दै उक्त प्रश्न गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पहिला रास्वपा संघीयता खारेज गर्ने भन्थ्यो, अब संविधान संशोधन गर्छ कि गर्दैन? गर्ने हो भने केन्द्र र पालिका मात्र होस्।’
सरकारले संविधान संशोधन गर्ने तयारी गरिरहँदा उनले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनु पर्ने तर्क समेत गरेका छन्। साथै उनले जिल्ला समन्वय समिति (जिसस) अनावश्यक भएको र पालिका तथा केन्द्रका बारे मात्रै संशोधन जरुरी भएको पनि बताए।
उनले राष्ट्रियसभा १०५ सिटको हुनुपर्ने र पूर्ण समावेसी हुनु पर्ने बताएका छन्। यसैगरी, उनले प्रतिनिधि सभाको समानुपातिक सिट खारेज गरेर प्रत्यक्षमा महिला पुरुष ६०–४० प्रतिशत अनिवार्य बनाउनु पर्ने बताए।
नेता बास्कोटाले भने, ‘राष्ट्रियसभा १०५ सिट, पूरै समावेसी महिला पुरुष ५०–५० प्रतिशत, उपराष्ट्रपति नै सभाध्यक्ष हुने व्यवस्था होस। प्रतिनिधिसभा समानुपातिक सिट खारेज, महिला पुरुष ४०-६० प्रतिशत प्रत्यक्ष। जिसस पर्दैन।’
प्रकाशित: २४ वैशाख २०८३ ०९:४५ बिहीबार




