राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ एवं चितवन क्षेत्र नं-३ की उम्मेदवार सोबिता गौतमले मुलुकमा राजनीतिक स्थिरता र विकासका लागि आफ्नो पार्टीलाई एकल बहुमत दिन मतदातासँग आग्रह गरेकी छन्।
सोमबार चितवनमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले स-साना दल मिलेर बन्ने गठबन्धन सरकारले देशलाई निकास दिन नसक्ने बताइन्।
गौतमले जेन-जी आन्दोलनमा स्कुल र कलेजको पोसाकमै रहेका विद्यार्थीहरूमाथि राज्यले दमन गरेको स्मरण गरिन्। उनले भनिन्, ‘आन्दोलनमा हाम्रा कलिला भाइबहिनीलाई गोली लाग्यो। त्यो बर्बर दमनपछि युवाहरूले अब यो नेतृत्व हामीलाई चाहिँदैन भनेर आवाज उठाएका हुन्।’
उनले पुराना दल र तिनका नेताहरूले देशको अवस्था सुधार गर्न नसकेको र युवा पुस्तालाई विदेशिन बाध्य पारेको आरोप लगाइन्।
नेतृ गौतमले नेपालको संसदीय इतिहासमा कसैले पनि जनताको मुद्दालाई प्राथमिकतामा नराखेको जिकिर गरिन्। ‘गठबन्धनको सरकार बन्छ, ९ महिना वा एक वर्षमा प्रधानमन्त्री फेरिने खेल सुरु हुन्छ,’ उनले भनिन्, ‘बनेको प्रधानमन्त्रीलाई हटाएर अर्को को बन्ने भन्ने हतारोमै नेताहरू व्यस्त भए। कुर्सी जोगाउनमै समय बिताए।’
उनले यसपटक मत बाँड्ने गल्ती नगर्न मतदातालाई आग्रह गरिन्। ‘दुई चार भोट यसलाई, दुई चार भोट उसलाई भन्नुभयो भने फेरि पनि देश अस्थिरतामै फस्छ,’ उनले थपिन्, ‘कानुन बनाउन र त्यसलाई कार्यान्वयन गर्न रास्वपालाई एकल बहुमत चाहिन्छ।’
गौतमले पार्टीका वरिष्ठ बालेन्द्र शाहको कामको खुलेर प्रशंसा गरिन्। एउटा मेयरले अधिकार प्रयोग गर्दा कति विकास गर्न सक्छन् भन्ने कुरा बालेनले प्रमाणित गरेको भन्दै उनले अब संघीय सरकारको नेतृत्व गरेर रवि लामिछानेले देशको मुहार फेर्ने दाबी गरिन्।
‘काठमाडौंबाट बालेनजीले प्रमाणित गरिदिनुभयो, अब रवि लामिछानेले सिंहदरबारबाट प्रमाणित गर्नुहुनेछ,’ उनले भनिन्, ‘यसपटक हामीले मधेसको छोरो बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा अघि सारेका छौँ।’
आफू अन्य नेताजस्तो आश्वासन बाँड्न मात्र नआएको भन्दै गौतमले आफूलाई जनताको छोरीका रूपमा प्रस्तुत गरिन्। उनले भनिन्, ‘कतिलाई म छोरी जस्तो लाग्ला, कतिलाई नातिनी वा दिदीबहिनी जस्तो लाग्ला। म सामान्य परिवारको छोरी हुँ। मेरो घरको आँगन तपाईंहरूको गुनासो सुन्न सधैँ खुला रहनेछ।’
उनले महँगी, बेरोजगारी र किसानका समस्याहरू संसद्मा जस्ताको तस्तै गुञ्जाउनका लागि आफूलाई घन्टी चिह्नमा मतदान गरी विजयी गराउन अपिल गरिन्।
प्रकाशित: १९ माघ २०८२ १८:३२ सोमबार





